Logo
Logo

मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई, को-को बन्दैछन् मन्त्री ?



काठमाडौं । नेकपा एकीकृत समाजावादीको स्थायी कमिटी बैठकले पार्टीबाट मन्त्री हुनेको नामावली टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिइएको छ ।

आज बसेको स्थायी कमिटी बैठकले मन्त्रीको नामावली र मन्त्रालयको बाँडफाँड गर्ने जिम्मेवारी अध्यक्ष नेपाललाई दिने निर्णय भएको हो ।
एकीकृत समाजवादीका नेता विरोध खतिवडाले बैठकले मन्त्रीको नाम टुंगो लगाउनेदेखि मन्त्रालय बाँडफाँडको जिम्मेवारी नेपाललाई दिने निर्णय भएको बताए ।

‘हामीले सबै जिम्मा अध्यक्षलाई नै दिएका छौँ, उहाँले नै मन्त्रीको नामावलीका साथै मन्त्रालयको बाँडफाँड गर्नुहुन्छ’ खतिवडाले भने, ‘मन्त्रालय बाँडफाँडबारे अस्तिको सहमति अन्तिम होइन, त्यसबारे थप निर्णय गर्ने जिम्मा अध्यक्षलाई नै दिएका छौँ ।’

स्थायी कमिटी बैठक सकेर अध्यक्ष नेपाल सत्तारुढ गठबन्धनको शीर्ष नेताहरुको बैठकमा सहभागी हुन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

सत्तारुढ गठबन्धनका बीचमा यस अघि नै मन्त्रालयको बाँडफाँड गर्दै सहमति भइसकेको छ । शीर्ष नेताहरुका बीचमा भएको सहमतिअनुसार काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ६ तथा एकीकृत समाजवादी र जसपाले ४-४ वटा मन्त्रालय पाउँनेछन् । तीन दलले १÷१ राज्य मन्त्री समेत पाउने सहमति भएको छ ।

गठबन्धनका एक नेताका अनुसार कांग्रेसले प्रधानमन्त्रीसहित गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, रक्षा, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाउनेछ ।

त्यस्तै, माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय लिनेछ । एकीकृत समाजवादीले कानुन, शहरी विकास, श्रम तथा रोजगार, संस्कृति तथा पर्यटन मन्त्रालय पाएको छ ।

यस्तै जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा बातावरण पाउनेछ ।

हाल कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्री नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन् भने माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल छन् । प्रधानमन्त्री देउवाले कानुनमन्त्री कार्कीलाई स्वास्थ्यमन्त्री बनाउने तयारी गरेका छन् । तर कार्कीले भने रक्षा मन्त्रालयमा आकांक्षा देखाएका छन् ।

एकीकृत समाजवादीबाट मन्त्री हुने को–को हुन् ?

एकीकृत समाजवादीले मन्त्री हुने नामावली करिब टुंगो लगाइसकेको छ । सरकारले दल विभाजन सजिलो हुनेगरी ल्याएको राजनीतिक दल सम्बन्धीको अध्यादेश फिर्ता लिएपछि एकीकृत समाजवादी पार्टीले मन्त्री हुनेको नामावली टुंगो लगाएको हो ।

एकीकृत समाजवादी पार्टीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणी चौधरी, प्रेम आलेमागर, जीवनराम श्रेष्ठ मन्त्री हुने टुंगो लागेको छ । यस्तै, किसान श्रेष्ठ र भवानी खापुङमध्ये एक जना मन्त्री हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्