Logo
Logo
सत्तारुढ दलको सहमति:

दुई वटा प्रदेशमा एकीकृत समाजवादीको सरकार बन्ने निश्चित

प्रदेश १ र मा राजेन्द्र राई र वागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै



काठमाडौं । प्रदेश १ र वागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीको सरकार बन्ने भएको छ । प्रधामन्त्री निवास बालुवाटारमा सम्पन्न सत्तारुढ दलको बैठकमा यस्तो सहमति जुटेको हो ।

बालुवाटारमा सम्पन्न गठबन्धन बैठक सहभागि भएर पार्टीको स्थायी कमिटी बैठकमा पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रदेश १ र वागमतीमा आफ्नो पार्टीको सरकार बन्ने सहमति भएको जानकारी गराएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

सत्तारुढ गठबन्धनबीच भएको सहमति अनुसार प्रदेश १ मा राजेन्द्र राई र वागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ । एकीकृत समाजवादी प्रदेश १ को संसदीय दलको नेता राई हुन भने वागमती प्रदेशको संसदीय दलको नेता पाण्डे हुन् । यी प्रदेशमा अहिले एमाले नेतृत्वको अल्पमत सरकार रहेको छ ।

प्रदेश १ मा भीम आचार्य नेतृत्वको र वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले असोज अन्तिम साता विश्वासको मत लिने तयारी गरिरहेका छन् । तर दुवै प्रदेशमा उनीहरु अल्पमतमा रहेका छन् भने पाँच दलीय गठबन्धन बहुमतमा रहेका छन् ।

एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले दुवै प्रदेशमा आफ्नो दलको नेतृत्वमा सरकार बन्नुपर्ने अडान राख्दै आएका थिए । तर कांग्रेस यि दुई मध्ये एक प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार निर्माण गर्नुपर्ने अडानमा थियो ।

संघीय सरकारमा एकीकृत समाजवादी पार्टीले मन्त्रीको संख्या कम पाएकोले यो दुवै प्रदेशमा सरकार बनाउँने मौका पाएको हो । सत्तारुढ गठबन्धन समेत यो दुवै प्रदेशमा एकीकृत समाजवादीलाई नै दिने बारेमा अन्तिम समयमा आएर सहमत भएको हो ।

प्रतिक्रिया दिनुहोस्