Logo
Logo

३ दिनसम्म आएन रिपोर्ट, पखालाका बिरामी थपिँदै



कपिलवस्तुको कृष्णनगर नगरपालिका बहादुरगन्जस्थित शिवराज अस्पतालअगाडि रूखको फेद र खुला ठाउँमा उपचार गराइरहेका बिरामी । तस्बिर : मनोज पौडेल/कान्तिपुर

कपिलवस्तु, बुटवल । दुई जनाको ज्यान जाने र ६ सय जनाभन्दा बढी बिरामी पर्ने गरी फैलिएको झाडापखाला प्रकोपको पहिचान गर्न संकलन गरिएको दिसाको रिपोर्ट तीन दिन बितिसक्दा पनि नआउँदा नियन्त्रणमा समस्या भएको छ । मंगलबार संकलन गरिएको दिसाको नमुना बिहीबार बल्ल परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

रिपोर्ट आउन थप एक दिन लाग्नेछ । हैजाको आशंका गरिए पनि नियन्त्रण अभावमा बिरामी थपिने क्रम बिहीबार पनि जारी छ । रोगको यकिन पहिचान नहुँदा नियन्त्रणको योजना नै बनेको छैन ।

आठ डाक्टरसहित २८ स्वास्थ्यकर्मीको टोली उपचारका लागि परिचालन गरिएको छ । बहादुरगन्जस्थित शिवराज अस्पतालमा बिहीबार मात्रै १ सय २५ जना नयाँ बिरामी थपिएका छन् । उनीहरूमा बान्ता, पखाला, पेट दुख्ने र कमजोरी हुने लक्षण छन् । कृष्णनगर नगरपालिकामा दूषित पानीका कारण प्रकोप फैलिएको आशंका छ ।

बहादुरगन्जबाट वितरण गरिएको खानेपानीका पाइप ठाउँ–ठाउँमा टुटफुट र लिकेज भएर संक्रमण फैलिएको प्रारम्भिक आकलन गरिएको नगर प्रमुख रजतप्रताप शाहले बताए । रोगको पहिचान गर्न मंगलबार विभिन्न क्षेत्रका पाँच जनाको दिसाको नमुना संकलन गरी बुटवल पठाइएको थियो । फिल्डमै खटिएका एक स्वास्थ्यकर्मीले भने, ‘रिपोर्ट आउन समय लाग्छ, कसरी नियन्त्रण गर्ने रु’ रोग पहिचान नहुँदा नियन्त्रणका लागि कुनै योजना नै नबनेको र प्रभावित गाउँमा पुगेर सचेतना जगाउने काम मात्र भइरहेको उनले बताए ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्