Logo
Logo

मन्त्रीमा नअटाएका मेटमणीलाई संसदीय समितिको सभापति बनाउने तयारी



काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मेटमणी चौधरी यस पटक मन्त्री नबन्ने भएको छ । पहिलो पटक सरकारमा सहभागी हुने क्रममा एकीकृत समाजवादीले चौधरीको नाम छुटाएको हो ।

एमाले विभाजनको क्रममा खरो रुपमा केपी शर्मा ओलीको विरोध गर्दै माधवकुमार नेपाललाई साथ दिएका चौधरी एकीकृत समाजवादीको लिष्टमा नअटाएका हुन । मन्त्रीको लिष्टमा चौधरीको नाम अटाउन नसकेको भन्दै पार्टी भित्र र बाहिरबाट आलोचना भएको छ । समाजवादीबाट मन्त्री हुनेहरुको नाममा मेटमणीको नाम समेत उच्च प्राथमिकताका साथ चर्चामा थियो ।

मन्त्रीका लागि मेटमणी आफै पनि प्रयत्न गरिरहेका थिए । तर, आज विहान पार्टीले मन्त्रीको नाम टुंगो लगाउँदा उनको नाम नपरेपछि उनी मन्त्री नबन्ने पक्का भएको छ । तर, उनलाई कुनै एक संसदीय समितिको सभापतिको जिम्मेवारी दिन लागिएको पार्टीका एक नेताले बताए । उनले भने– ‘मन्त्रालय भागवण्डा करेक्सनको क्रममा अपेक्षा गरिएको भन्दा पनि कम मात्र भागमा परेकाले आकांक्षी साथीहरुको व्यवस्थापन गर्न असहज भएको हो । मेटमणी कमरेडलाई संसदीय समितिको सभापतिको रुपमा जिम्मेवारी दिने विषय पार्टीमा छलफल भएको छ ।’

२०४५ सालदेखि अनेरास्ववियुबाट राजनीति सुरु गरेका मेटमणी २०४८ देखि नियमित रूपमा एमालेको संगठनमा रहेर काम गर्दै आएका थिए । एमाले विभाजनपछि एकीकृत समाजवादीमा रहेका उनी दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षबाट निर्वाचित प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्