Logo
Logo

प्रधानन्यायाधीश जबराको जेठान पनि मन्त्री बन्दै



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको ठगबन्धन सरकारले आज पूर्णता पाउँदैछ । २१ सदस्यीय गठबन्धन सरकारमा गजेन्द्र हमाल पनि मन्त्री बन्दैछन् । हमाल प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराको नाताले जेठान हुन् । कांग्रेसको क्रियाशील सदस्य समेत नरहेका हमाल मन्त्री बन्ने भएपछि नेपालगन्जबाट काठमाडौं आइसकेका छन् ।

गठबन्धन दलले आफ्नो दलबाट सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाइसकेका छन् । पाँच दलीय गठबन्धनमा प्रधानमन्त्रीसहित २१ सदस्यीय मन्त्रिपरिषद हुने भएको छ । त्यसमध्ये पाँच दलबाट २० र हमाललाई २१ सदस्यीय हुनेछ ।

प्रधानमन्त्री देउवाले राष्ट्रपतिसमक्ष पठाएको मन्त्रीहरुको सूचीमा हमालको नाम समेत रहेको छ । हमाल प्रधानन्यायाधीश जबराको कोटामा मन्त्री बन्न लागेका हुन् । उनी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएका छन् ।

यसअघि प्रधानन्याधीशले सरकारमा भागबण्डा मागेको भन्दै आलोचना भएको थियो । सर्वत्र आलोचना हुन थालेपछि सरकारले उक्त कुराको खण्डन गरेको थियो । प्रधानन्यायाधीश जबराले समेत आफूले सरकारमा भागबण्ड नखोजेको बताएका थिए । प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषद विस्तार गरी मन्त्रीहरुलाई सपथ गराउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्