‘स्वच्छ प्रतिस्पर्धामा खलल पुर्‍याउने नियतले अफरहरु चलाइयो’ « Drishti News – Nepalese News Portal
Logo

‘स्वच्छ प्रतिस्पर्धामा खलल पुर्‍याउने नियतले अफरहरु चलाइयो’


दृष्टि संवाददाता


काठमाडौं । मोबाइल तथा इलेक्ट्रोनिक्स कम्पनी तथा अनलाइन प्लेटफर्महरुले स्वच्छ प्रतिस्पर्धामा खलल पुर्याउने बदनियतका साथ विभिन्न योजनाहरु संचालन गरेको भन्दै नेपाल मोबाइल व्यवसायी महासंघले आपत्ति जनाएको छ ।

महासंघका अध्यक्ष भरत भट्टराईले विज्ञप्ति जारी गर्दै बजारमा एकाधिकार कायम गर्ने नियतले विभिन्न कम्पनी तथा अनलाइन प्लेटफर्महरुले डिस्काउन्ट, क्यास ब्याक जस्ता अस्वच्छ अफरहरु संचालन गर्नु गलत रहेको बताएका छन् ।

प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन २०६३ को मर्म विपरीत यसरी संचालन गरिएका अफरहरुले देशभर छरिएर रहेका मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायीहरुको व्यवसाय नै धरापमा पर्नुका साथै ठूलो आर्थिक क्षती पुर्याएको विज्ञप्तिमा उल्लेख छ ।

इलेक्ट्रोनिक्स सामानहरुको बिक्रि वितरणमा स्वच्छ प्रतिस्पर्धाको वातावरणका लागि उल्लेखित सामानको मूल्यमा एकरुपता ल्याउनुपर्ने तथा उपभोक्ता संरक्षण ऐन २०७५ को कानुनी व्यवस्थाको पालन गर्न उपभोक्तालाई प्रदान गरिने वारेन्टीको सुनिश्चितता तथा उपभोक्ताको गुनासोलाई संवोधन गर्ने गरी सम्पूर्ण जिल्लामा सम्बन्धित कम्पनीहरुले आ–आफ्नो सेवा केन्द्र स्थापाना गर्न आवश्यक रहेको महासंघद्वारा जारी विज्ञपितमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्