काठमाडौं । बाँदरले खेतीपाती नास गरेर गाउँमा आतङ्क मच्चाउन थालेपछि बैतडीको दशरथचन्द नगरपालिकाको वडा नम्बर ५, ६, ८ र १० का एक हजारभन्दा बढी परिवार गाउँबाट विस्थापित भएका छन् ।
भारतबाट नेपाली सिमानाका झुलाघाटमा छोडिएका बाँदरले खेतीपाती मात्र होइन, भान्साकोठामा पकाएको खानासमेत खोसेर खान थालेपछि दशरथचन्द नगरपालिका–८, धौल्याली गाउँका टेकराम टमाटा, चन्द्री टमाटा र शिवराम टमाटा लगायत दर्जनौँ परिवार भारत पलायन भएका हुन् ।
बाँदर आतङ्कका कारण दशरथचन्द नगरपालिका–५,को पल्लाचौडाली वडा नम्बर ८ को धौल्याली, साङडी, पुजरगाउँ र वडा नम्बर १० को भटाला, झाका, बुड्डा, खडेनी, तिर, लगायतका गाउँबाट करिब एक हजार पाँच सयभन्दा बढी परिवारले गाउँ छाडेर हिँडेका छन् । यही कारण दशरथचन्द नगरपालिकाका पाँचवटा विद्यालय विद्यार्थी संख्या नपुग्दा बन्द भएको दशरथचन्द नगरपालिका शिक्षा शाखा प्रमुख मोसन नाथले बताउनुभयो ।
बाँदर आतङ्कका कारण गाउँलेहरु परिवारसहित विस्थापित भएपछि दशरथचन्द नगरपालिका–८, मा रहेका रणशैनी आधारभूत विद्यालयमा छ जना विद्यार्थी र आठ जना शिक्षक छन् । विद्यार्थी संख्या कम भएपछि उक्त विद्यालय जगदम्बा मावि रानी मुङ्गामामा समाहित भएको नाथले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी संख्या नुहँदा शिक्षकले मात्र तलब खाएर बस्नुपर्ने भएपछि उक्त विद्यालय समायोजन गरिएको छ ।”, यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।











