Logo
Logo

न्याय माग्न आएकाहरु उल्टै प्रहरी खोरमा



काठमाडौं । शुक्रबार राति माइतीघर मण्डलामा कोही खाना खाँदै थिए, कोहीचाहिँ सुत्ने तर्खर गर्दैथिए । त्यतिखेरै उनीहरुलाई प्रहरीको भ्यान आएर उठायो । नेपालगञ्जबाट हिँडेरे न्याय माग्न आएकाहरु न्याय पाउनु कता हो कता, उल्टै प्रहरीले रातारात उठाएको छ ।

घरेलु हिंसाका कारण ज्यान गुमाएका बाँकेका दुई महिलाको निम्ति उनीहरु न्याय माग्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आइपुगेको रुबी खानसहित १४ जना महिलाको टोलीलाई शुक्रबार राति माइतीघरबाट प्रहरीले पक्राउ गरेको थियो । माइतीघर मण्डलमा धर्ना दिइरहेका उनीहरुलाई प्रहरीले जबर्जस्ती भ्यानमा हालेर लगेको हो । उनीहरुलाई सोह्रखुट्टे र बालाजु लगिएको छ । प्रहरीले उनीहरूलाई पक्राउ गरेको नभएर सुरक्षाका लागि नियन्त्रणमा राखेको जनाएको छ ।

प्रहरीले पक्राउ गर्दा खुट्टाको पानीको फोका फुटेको र औषधि उपचार पनि गर्न नपाएको सकिना तेलीको भनाइ छ । उनका अनुसार चार जना घाइते भएका छन् । उनले आफ्नो माग सम्बोधन गर्नुको सट्टा दमन गर्न खोजिएको बताइन् । अनशनस्थलमा रोटी तरकारी खाँदाखाँदै उनीहरूलाई प्रहरीले पक्राउ गरेपछि उनीहरु झनै रुष्ट बनेका छन् ।

नागरिक अगुवाहरूले पक्राउ परेका महिलालाई तत्काल रिहा गर्न माग गरेका छन् । उनीहरू राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्न आएका हुन् । न्याय नपाएसम्म उनीहरू घर नफर्किने अडानमा छन् ।

यता प्रहरीले भने चाडबाड बेला माइतीघरमा सुतिरहेको र त्यहाँबाट हट्न नमानेकाले सुरक्षित ठाउँमा सारिएको बताएको छ । प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार सबैलाई नगर प्रहरी कार्यालयमा सुरक्षित राखिएको छ ।

बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा प्रहरीले प्रभावकारी रूपले अनुसन्धान नगरेको र दोषी पत्ता लगाउन कुनै चासो नदिएको भन्दै उनीहरु याय माग्दै नेपालगन्जबाट हिँडेरै काठमाडौं आइपुगेका हुन् । तर, आफूहरुको मागप्रति सरकारले चासो नदिएको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्