Logo
Logo

सुदूरपश्चिममा कांग्रेसद्वारा मुख्यमन्त्रीको माग



काठमाडौं । सुदुरपश्चिम प्रदेशमा कांग्रेसको मुख्यमन्त्री हुनुपर्ने माग गरिएको छ । प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी छाडेपछि सुदूरपश्चिमका कांग्रेस नेताहरुले सुदूरपश्चिममा मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका छन् ।

सुदूरपश्चिम प्रदेशबाट काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलको टोली मुख्यमन्त्री फेर्न माग गर्दै बालुवाटार आइपुगेको हो । यी टोलीले अब सुदूरपश्चिममा कांग्रेसले मुख्यमन्त्री पाउनुपर्ने प्रधानमन्त्री देउवासँग माग गरेका छन् ।

यसअघि प्रदेश १ र वागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच मुख्यमन्त्रीको भागवण्डा गर्ने समझदारी भएको थियो । तर, मन्त्रिपरिषद विस्तारका क्रममा आफूहरुले कम मन्त्रालय पाएको एकीकृतका अध्यक्ष माधवकुमार नेपालले गुनासो गरेपछि दुवै प्रदेशमा नेकपा समाजनवादी एकीकृत मुख्यमन्त्री छाड्न प्रधानमन्त्री देउवा तयार भएका छन् ।

हाल सुदुरपश्चिम प्रदेशमा नेकपा माओवादीबाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । उनलाई एकीकृत समाजवादीको समर्थन छ । हाल ५२ सदस्य रहेको सुदुरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादीका १३ र काँग्रेसका १२ सांसद छन् ।

गठबन्धन सरकारको ठूलो दल काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको छ भने माओवादीले सुदुरपश्चिम, कर्णाली र लुम्बिनीसमेत गरी तीनवटा प्रदेशमा मुख्यमन्त्री पाएको छ ।

प्रतिक्रिया दिनुहोस्