Logo
Logo

मन्त्री आलेसँगको वार्तापछि निगमको आन्दोलन स्थगित



काठमाडौं । नेपाल वायुसेवा निगमको संरचना बदल्ने लगायतका प्रस्तावविरुद्ध आन्दोलनमा उत्रिएका तीन वटा ट्रेड युनियनले १ सय ४ दिनपछि आन्दोलनका कार्यक्रम स्थगन गरेका छन् ।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसँग मन्त्रालयमा भएको वार्तापछि नेपाली कांग्रेस, माओवादी केन्द्र र एमाले निकट तीन ट्रेड युनियनले शर्तसहित आन्दोलन फिर्ता लिएको घोषणा गरेका हुन् ।

मन्त्रीसँगको छलफलमा ट्रेड युनियनले निगमको संस्थागत संरचना बदल्न गरिएको प्रस्ताव हाललाई रोक्नुपर्ने, निगमका महाप्रवन्धकलाई बर्खास्त गर्नुपर्ने लगायत माग राखेका थिए । मन्त्रीले उनीहरुका माग पूरा गर्न केही समय लाग्ने भएकाले १५ दिनको समय मागेका छन् ।

यस्तै ट्रेड युनियनले महाप्रवन्धक डिम प्रसाद पौडेललाई निगम प्रवेशमा रोक लगाइएको कायमै राखेको विज्ञप्तिमा उल्लेख गरेका छन् । केपी ओली सरकारले चार वटा जेट विमान खरिद लगायतमा कम्तीमा ४७ अर्ब ऋण र १० अर्ब संचित घाटामा चलिरहेको सरकारको पूर्ण स्वामित्वको नेपाल वायुसेवा निगमलाई संस्थानबाट कम्पनीमा बदल्न ७८/७९ को आय व्ययको सार्वजनिक वक्तव्यमार्फत् कार्यक्रम ल्याएको थियो ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्