Logo
Logo

घुम्न गएकाहरू फर्कन पाएनन्



काठमाडौं । दसैं बिदामा घुम्न देविका घिसिङ र उनका साथीले योजना बनाए । काठमाडौंबाट पोखरा हुँदै चितवन घुम्ने योजना बन्यो । आठ जनाको टोली आइतबार काठमाडौंबाट पोखरा आयो । सोमबार पर्यटकीय गाउँ घान्द्रुक पुग्न नयाँपुलबाट जिप चढे । बीचबाटोमै जिप भीरबाट खस्यो । देविकाबाहेक कोही पनि घर फर्कन पाएनन् ।

ग१ज ६९०० नम्बरको जिपधनीसमेत रहेका ४२ वर्षीय खुसीमान क्षत्री अनुभवी चालक थिए । नयाँपुल घर भएका उनी घान्द्रुक कैयौंपल्ट ओहोरदोहोर गरिसकेका थिए । काठमाडौंबाट पुगेको टोलीलाई उनैले लिएर गए । अन्नपूर्ण गाउँपालिका–१० को हुँदु कटेपछि घुम्ती भएको ठाडो उकालो आउँछ । अलि माथि छ कलाभीरको उकालो ।

कच्ची सडकको छेउतिर रेलिङ लगाइएको छ । रेलिङ भएनिरै पुगेपछि खुसीमानले गियर परिवर्तन गरे । गाडी थोरै ‘ब्याक’ गरेर अगाडि बढाउन खोजे । उकालोमा गाडीले तानेन । पछाडि–पछाडि लस्कियो । देविकालाई भीरमा जिप गुल्टिएको सम्झना छ । होस आउँदा उनी भीरको एउटा रूखमा अड्किरहेकी थिइन् । जिप झन्डै डेढ सय मिटर तल पुगेर बाटोमै बजारिएको थियो । खुसीमान र बाँकी सात जनाको घटनास्थलमै मृत्यु भयो ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्