Logo
Logo

न्याय माग्दै हिरासतभित्रै आमरण अनशन



नेपालगन्जस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार बयानका लागि ल्याइएकफ रुबी खान । तस्बिर : मधु शाही/कान्तिपुर

काठमाडौं । अधिकारकर्मी रुबी खान प्रहरी हिरासतमा आमरण अनशन बसेकी छन् । न्यायको अपिल गर्दै पैदलै काठमाडौं पुगेकी उनलाई माइतीघरबाट धर्नामा बसेका बेला गत शुक्रबार प्रहरीले पक्राउ गरी भोलिपल्ट नेपालगन्ज ल्याएको थियो । उनलाई बहुविवाहको मुद्दामा अदालतको आदेशले पक्राउ गरिएको प्रहरीको दाबी छ ।

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा स्थानीय प्रशासनले चित्तबुझ्दो अनुसन्धान नगरेको भन्दै महिला अधिकार मञ्चकी रुबीलगायत १४ जनाको टोली २० दिन हिँडेर काठमाडौं पुगेका थिए । जिल्ला सरकारी वकिल कार्यालयमा सोमबार बयानका लागि उपस्थित गराइएकी उनले आफूमाथि प्रहरी प्रशासनले ज्यादती गरेको बताइन् । बहुविवाहको झूटो मुद्दामा पक्राउ पुर्जी नै नदिई जबर्जस्ती नियन्त्रणमा लिएर हिरासतमा राखेको उनको दाबी थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले भने उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दा दर्ता भएकाले कारबाही अघि बढाइएको जनाएको छ । रुबीले शुक्रबारदेखि केही खाएकी छैनन् । श्रीमान्सँग २०७६ असोज ८ मा इस्लाम धर्मअनुसार तलाक भएको र त्यसको १० दिनपछि अदालतबाट सम्बन्ध विच्छेद प्रमाणीकरणसमेत गरेको उनले दाबी गरिन् । प्रहरीले भने उनीविरुद्धको मुद्दाका विषयमा प्रस्ट पारेको छैन ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्