Logo
Logo

‘मोतीपुर घटनाको दोषी तत्कालीन ओली सरकार हो’



काठमाडौं । रुपन्देहीको मोतीपुरमा प्रहरीको गोलीबाट चार जनाको मृत्यु भएको घटनामा तत्कालीन ओली सरकार दोषी रहेका सत्तारुढ तीन दलका विद्यार्थी संगठनले आरोप लगाएका छन् ।

विद्यार्थी संगठनले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै सो घटनाको सत्यतथ्य छानबिन गर्ने माग गरेका छन् । एकीकृत समाजवादीनिकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, माओवादी केन्द्रनिकट अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र जसपा निकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा घटनाको मुख्य कारण तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार भएको आरोप लगाइएको छ ।

विज्ञप्तिमा घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको निःशुल्क उपचार गर्नसमेत सरकारको ध्यानाकर्षण गरिएको छ ।

‘अनाहकमा जनताको ज्यान गएको यो घटनाको मुख्य कारण तत्कालीन प्रतिगामी सरकार र त्यसका अर्थमन्त्री भएको हाम्रो निश्कर्ष छ’ विज्ञप्तिमा लेखिएको छ ।

गत फागुन २१ गते तत्कालीन सरकारका अर्थमन्त्री एवं एमाले उपमहासचिव विष्णु पौडेलले स्थानीयको विरोधका बाबजुद मोतीपुरमा औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए ।

२४ असोजमा रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपमा प्रहरीले गोली चलाउदा चार जनाको मृत्यु भएको थियो ।

औद्योगिक क्षेत्र स्थापना गर्ने नाममा १ सय ३३ विघा जग्गा अधिग्रहण गर्दै राज्य शक्तिको दुरुपयोग गरी मोतिपुर क्षेत्रमा बसोबास गरिरहेका सर्वसाधारण जनतालाई सत्ता र शक्तिको आडमा लखेट्ने दुस्साहसको परिणाम मोतिपुर क्षेत्र रणमैदान भएको विद्यार्थी संगठनले आरोप छ ।

प्रतिक्रिया दिनुहोस्