Logo
Logo

चुल्होदेखि चुचुरोसम्म



पोखरा । ‘अहिले सम्झँदा अचम्म लाग्छ, एउटा गाउँको मध्यम वर्गीय किसान परिवारकी छोरी मैले हिमाल चढ्ने सपना कहिल्यै देखेकी थिइनँ तर आज पाँच–पाँचवटा हिमालको चुचुरोमा पुग्न सफल भएँ । हिमाल आरोहणको यात्रा आफैँका लागिसमेत एक किसिमले ‘सरप्राइज’ भयो ।’

एकपछि अर्को सफलता हासिल गर्दै हिमाल आरोहीका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल फोटो पत्रकार पूर्णिमा श्रेष्ठको अनुभव हो यो । श्रेष्ठले यही असोज १५ (अक्टुबर १) मा धौलागिरि हिमाल आरोहण गर्न सफल भइन् । उनीसँगै अर्का आरोही महिला पासाङल्हामु शेर्पाले पनि धौलागिरि हिमाल आरोहण गरी प्रथम महिला आरोहीको सूचीमा आफूलाई पार्न सफल भए ।

फरक पृष्ठभूमिबाट पनि लगातार हिमालको चुचुरोमा पुगेर कीर्तिमान राख्न सफल उनीले खुसी साट्ने क्रममा भने– ‘जीवनमा सधैँ सोचेको र देखेको सपनाबाट मात्र सफल भइन्छ भन्ने होइन रहेछ, मैले हिमाल चढ्ने सपना देखेकी थिइनँ तर फरक क्षेत्रबाट आफूलाई स्थापित गर्छु भन्ने सोचले चुचुरोतिर पु¥यायो र सफल पनि बनायो ।’

अहिले बटुलेका खुसीहरुसँग रमाइरहँदा उनि आफ्नो बाल्यकाल र विगततिर पनि फर्कन्छिन् । ‘म घरभित्रको काममा रमाउँथे, कसैले कहीँ घुम्न जाऊँभन्दा पनि घरमा खाना पकाउनुपर्छ भनेर बसिरहन्थेँ, घर सफासुग्घर राख्न खुबै मन पथ्र्यो, आज म चुल्होबाट चुचुरोमा पुग्न सफल भएँ, मेरो सफलतामा साथीहरु पनि दङ्ग छन् । ’

आफूलाई सधैँ चुनौतीको सामना गर्न मनपर्ने पूर्णिमालाई आफ्नो अनुभव नै नभएको क्षेत्रमा प्राप्त गरेको सफलताले यतिखेर दङ्ग बनाएको छ । गोर्खा आरुघाटमा मध्यम किसान परिवारमा जन्मिएकी पूर्णिमा २०६४ सालमा उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ पुगेकी थिइन् ।

काठमााडौँको त्यहीँ भीडबाटै आफूलाई फरक पहिचानको खोजी व्यस्त बनाएकी पूर्णिमाको बुबाआमाको सपना थियो– छोरी टेलिभिजनमा समाचार पढेको हेर्ने । तर, छिटो बोल्ने, अशुद्ध पनि भएकाले पूर्णिमाले टेलिभिजनको पर्दामा आफूलाई सफल हुन नसक्ने निष्कर्ष आफैँ निकालिन् ।

उनले पत्रकारिताको हुटहुटी पनि चलिरहेकै थियो । त्यसैले फुड एन्ड वाइन म्याग्जिनमा समाचारदाताका रुपमा काम गरिन् ।

समाचारदाताहरुको पनि भीड नभएको कहाँ हो र ? तर त्यो भीड पनि छिचोल्दै जाँदा पत्रकारितामा महिला फोटो पत्रकार धेरै नभएको र तुलनात्मक रुपमा जोखिमपूर्ण पेसा लागेपछि यसबाट आफ्नो पहिचान बनाउने अभ्यासमा जुटेकी थिन ।

कर्ममा विश्वास गर्ने र मिहिनेत गर्ने बानीले होला पत्रकारिकातामा पैसा हुँदैन भन्नेहरुका लागि पनि गतिलो उदाहरण बन्ने हिम्मत पूर्णिमामा पलाइरहेको थियो । ‘म काममा विश्वास गर्छु, त्यसैले पनि मिडियामा केही हुन्न भन्नेका लागि आफ्नै कमाईमा पनि स्तरीय जीवन व्यतीत गरेर देखाँउछु भन्ने लाग्थ्यो,’ उनले भन्छिन, ‘आफ्नै पारिश्रमिकबाट तीन लाखको क्यामेरा किने ।

यसै सिलसिलामा सन् २०१७ मा इन्जा रिपोर्टिङ्गमा गएकी साथी सृष्टि काफ्लले सर्वोच्च शिखर सगरमाथाको सौन्दर्यको बयान गरिदिएपछि पूर्णिमालाई त्यति नै बेला उडेरै सगरमाथ पुगुँझँै लाग्यो । तर, आरोहीका रुपमा होइन फोटो पत्रकारका रुपमा । उहाँलाई मोह जाग्यो, कहिले हिमालमा पुगुँला र सुन्दर दृश्य क्यामेरामा कैद गरुँ भनेर । अब उहाँले सगरमाथा बेसक्याम्प पुग्ने बाटोहरुको खोजी गर्न थाले’।

सन् २०१७ मा एभरेष्ट म्याराथन गराउने कम्पनीका सञ्चालक विक्रम पाँणेकाजीलाई पाँच महिनाअघि देखि नै सम्पर्क गरिन् । आफू ‘अफिसियल फोटोग्राफर’ का रुपमा त्यहाँ पुग्न चाहेको र जसरी पनि सहभागी गराउन अनुरोध गरिन् ।

आयोजकले दुब्ली पातली पूर्णिमालाई विभिन्न कठिनाइ देखाइरहे तर उहाँको आत्मविश्वासको अगाडि कम्पनि पनि बाध्य भयो । सम्पूर्ण प्रक्रिया पूरा गरेर उनलाई बेसक्याम्पसम्मको कार्यक्रममा सहभागी गरायो । यसरी पूर्णिमालाई पहिलो पटक हिउँसँग स्पर्श गर्ने अवसर प्राप्त भयो ।
नेपाल हिमालैहिमालको देश रहेछ भन्ने तथ्यलाई भित्रैदेखि अनुभूति गर्ने अवसर त्यतिबेला मिलेको उनि सुनाउँछिन् ।

त्यही बेसक्याम्पसम्मको अनुभव नै उनलाई हिमालको चुचुरोमा पु¥याउने सशक्त आधार बन्यो । मनमा हिमाल उक्लने चाहनाहरु बढ्न थाल्यो । हिमाल आरोहणका बारेमा सिक्न र जान्न मन लाग्न थाल्यो । एकदिन साथीभाइमाझ सगरमाथा चढ्छुभन्दा पूर्णिमा हाँसोको पात्रसमेत बनिन् ।

‘स्वाभाविक पनि हो बेसक्याम्पको यात्रा छिचोल्न निकै सास्ती भएर घोडाको सहारा लिन पुगेको मान्छे सगरमाथाको चुचुरोमा पुग्छुभन्दा पत्याउने कुरै भएन, धेरैलेउनलाई हिमाल आरोहणमा सोचे जसरी प्रेरित भने गरेनन् । किन चढ्ने हिमाल ? हिमाल चढेर के हुन्छ ? भन्नेको सङ्ख्या निकै धेरै थियो तर त्यसको उत्तर उनीसँग थिएन । फेरि त्यसबीचमा निकै कमले मात्र भित्री इच्छालाई बुझेर त्यो आँटलाई पूरा गर्नुपर्छ भनेर हौसला दिन्थे ।

पूर्णिमाले आफ्नो चाहना पूरा गर्ने प्रयास जारी राखिन् । ननिदाई देख्ने सपनाको नसा लागिसकेको थियो । त्यो सपना पूरा गर्न उनी कैयौँ रात जागै बसिन् ।

दिनदिनै जागेको यहीँ भोक मेटाउन एकदिन हिमाल आरोहण कम्पनिको मानिसलाई आफ्नो सगरमाथा चढ्ने इच्छा थियो । सगरमाथा चढ्नुअघि ६ हजार मिटर चुुचुरो चढ्नुपर्ने सुझाव पाएपछि उनले त्यसको तयारीतिर लागिन् ।

‘मलाई यसरी तालिम विना नै सहजै हिमाल चढ्छु, भन्ने आँट कसरी आयो होला ?’ यो आफ्नै प्रश्नको जवाफ उनले अहिलेसम्म पनि पाएको छैन् । उनी अहिले पनि अनुत्तरित प्रश्नमै रोकिन्छिन् । आर्थिक पाटोको समस्या पनि उस्तै थियो ।

यसबीचमा आफू अध्ययरत स्कुलका भाइबहिनीले खाजा रकम जोगाएर दिएको सहयोग रकमदेखि साथीहरुले आफ्नो रहर पैसाले रोक्नु हुँदैन भन्दै दिएको ऋणसम्म गरेर रु चार लाख, विभिन्न शुभचिन्तकबाट प्राप्त साथ सहयोग र शुभेच्छाले मानसिक रुपमा त उनले चुचुरो चढिसकेकी थिइन् ।

शरीर मात्र त्यहाँ पुग्न बाँकी थियो । अन्ततः आमा बुबादेखि सम्पूर्णको आशीर्वाद लिएर सन् २०१७ सेप्टेम्बर पहिलो हप्ता मनास्लु हिमाल आरोहण दलमा सहभागी भएर चुचुरोतिर उनका पाइला लम्के । विभिन्न कठिनाइ हण्डर र ठक्कर सबैको अनुभव बटुल्दै २२ दिनमा उनी असोज १२ गते (सेप्टेम्बर २६) सन् २०१७ मा पहिलोपल्ट आठ हजार एक सय ६३ मिटरको मनास्लु हिमालको चुचुरोमा पुग्न सफल भइन् ।

जीवनको पहिलो हिमाल आरोहणको अनुभव उनले मनास्लु हिमालबाट लिइन् । त्यसपछि उनलाई आत्मविश्वास हिमालजस्तै अग्लिँदै गयो । सन् २०१८ मे १९ मा उनले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिन् ।

त्यसैगरी सन् २०२१ अप्रिलमा अन्नपूर्ण प्रथम र २०१९ नोभेम्बर १० आमादब्लम हिमालको सफल आरोहणको अनुभव बटुल्न सफल भइन् ।
धौलागिरि हिमाल उनको दोस्रो प्रयासमा सफल भयो । ‘हिमाल आरोहण मृत्यु बोकेर हिँडेको यात्रा हो, कति बेला कहाँ के हुन्छ थाहा छैन तर त्यहीँ जोखिम र चुनौतीबीच प्राप्त खुसी र आनन्द सबैभन्दा ठूलो उपलब्धि हो ।’

श्रेष्ठ भन्छिन ‘हिमाल चढेको खुसी सम्झिरहँदा यसको ऋण सकेसम्म नसम्झनु परे हुन्थ्यो जस्तो लाग्छ ।’

उनले साथीभाइसँग ऋण लिएर हिमाल चढेको र कम्पनी र गाइडलाई बुझाउने पैसाको अभाव भएको प्रसङ्ग पनि जोड्न भ्याइन् ।
धनभन्दा अघि मन सारेर बटुलेको इच्छाशक्तिले आरोहणमा सफलता मिलेको स्मरण गर्दै उनले हिमाल चढ्दाका प्रत्येक पाइला याद रहेको बताइन् ।

‘जति मिहिनेत ग¥यो, उत्ति सफलता हात पर्छ, भन्ने यथार्थ भोगाइलाई आत्मसात् गर्न पाएँ,’ श्रेष्ठले भन्छिन ‘यसअघि अन्नपूर्ण प्रथम आरोहण गर्नुपूर्वको तयारी राम्रो भएकाले आर्थिक बोझ कम भएको छ । अन्नपूर्ण प्रथमका लागि प्रदेश सरकारको पनि सहयोग रहेकाले दिल खोलेर खुसी साट्न पाएको थिएँ तर अहिले धौलागिरि हिमाल भने ऋणमै पुगेर आएँ, उमेर छ समय पनि छ, कुनै दिन तीर्न सकूँला नि भनेर बसेकी छु । ’

उनले सबैको जीवनमा एउटा–एउटा सगरमाथा हुने र त्यो चढ्न निकै गाह्रो हुने अनुभव सुनाइन् । आफ्नो जीवनमा हिमाल नै ऊर्जा भएकाले अब जस्तै कठिन अवस्था आए पनि सहजै पार लगाउन सक्छु भन्ने आत्मविश्वास बढेको उनको भनाइ छ ।

यतिखेर सफलतामा आएका समाचार र साथीभाइका शुभकानामा पनि आफ्नो १० लाख ऋण भने भित्रभित्रै सम्झिरहने उनी बताउँछिन् । हिमाल आरोहणको यात्रामा आफू नथाक्ने यात्री भएकाले निरन्तरता दिने योजना उनको छ ।

नेपालका आठ हजार मिटरभन्दा माथिका कञ्चनजङ्घा, ल्होत्से र मकालु एकै याममा चढ्ने योजना बनाइरहेकी श्रेष्ठले किलर माउन्टेन भनेर चिनिने केटु हिमाल भने साँचेर राख्ने र चढ्न हतार नगर्ने बताइन् । ‘केटु हिमाल साँचेर राखेको सपना हो, हतार गर्दिनँ,’ उनले भनिन् ।

पत्रकारितमा स्नातकोत्तर श्रेष्ठले आफूभित्रको विशेष क्षमताको समयमै पहिचान गर्न आफू सफल भएको बताइन् । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियजगत्मा ब्रान्डिङ गर्न पर्वतारोहण पर्यटनलाई जोड दिन उनको सुझाव छ ।

नेपालमा रहेका अनगिन्ती चुचुरोहरु प्रचारप्रसारको अभाव ओझेलमा रहेको बताउँदै सरकारले देशका हरेक हिमालको पहिचान र परिचयबाहिर ल्याएर विशेष नीति निर्माणसहित यसको प्रवद्र्धनमा जोड दिनुपर्ने सुझाव दिन्छिन् ।

प्रतिक्रिया दिनुहोस्