संसद् अवरोधले अध्यादेश निष्क्रिय : मन्त्री रेग्मी « Drishti News – Nepalese News Portal
Logo

संसद् अवरोधले अध्यादेश निष्क्रिय : मन्त्री रेग्मी


दृष्टि संवाददाता


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेकपा एमालेका कारण तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश निष्क्रिय बन्न पुगेको बताएकी छन् ।

मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्षी दलले संसद् सञ्चालनमा अवरोध गरेका कारण हिंसा रोक्नका लागि ल्याइएको अध्यादेश निष्क्रिय बन्न पुगेको बताएकी हुन् । महिलालाई न्याय दिनका लागि सरकारले यो अध्यादेशलाई पुनः सक्रिय बनाउने उनको भनाइ थियो ।

उनले भने, ‘अध्यादेश खारेज गरिएको होइन । निष्क्रिय भएको छ । संसद्को अवरोध हटेपछि यसलाई सक्रिय बनाउँछौं ।’ हिंसामा परेका महिलालाई न्याय दिनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो ।

महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्नका लागि आफूले यस मन्त्रालय रोजेको बताउँदै उनले भनिन्, ‘अहिलेको कानुनलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउँदै नयाँ कानुन बनाएर महिला, बालबालिका र ज्येष्ठ नागरिकका क्षेत्रमा काम गर्छौं ।’

मन्त्री रेग्मीले ज्येष्ठ नागरिक, अपांगता भएकाहरुलाई सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान असहज भएको भन्दै घरघरै सामाजिक सुरक्षा भत्ता पु¥याउने गरी सरकारले काम गर्ने बताइन् । उनले भनिन्, ‘हुनेखानेलाई त सहज होला निमुखाहरुलाई कठिन भएको छ ।’ सरकारले अब बालबालिकाको खोपलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ ।

उनले भनिन्, ‘स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर बालबालिकाका लागि खोपको व्यवस्था हुँदैछ ।’ विद्यालय सञ्चालनका लागि शिक्षा मन्त्रालयसँग समन्वय गरिरहेको उनले बताइन् । आफूले सम्हालेको मन्त्रालयमा केही ठोस काम गर्नुपर्ने देखिएको बताउँदै उनले नीति निर्माण तहसम्म महिलालाई ल्याउनका लागि आफू र सरकार लाग्ने बताइन् ।

फरक प्रसंगमा बोल्दै उनले अहिलेको गठबन्धनमा कुनै समस्या नरहेको जिकिर गरिन् । गठबन्धनलाई मिलाउनका लागि सरकारले पूर्णता पाउन कठिन भएको भन्दै उनले अब रोकिएका कामहरु सहज रुपमा अगाडि बढ्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्