Logo
Logo
अन्तर्वार्ता

दशैं आदिवासी मास्ने बनमारा झारजस्तै हो : डा. भट्टचन


प्रकाश चाम्लिङ


काठमाडौं । हिन्दू समुदायको चाड दशैंलाई लिएर समाज विभक्त छ । सिँगो राज्य पक्षपोषणमा लाग्दा गैरहिन्दु समुदाय त्यसमा पनि आदिवासी जनजातिले ‘बहिस्कार’ गर्दै आएका छन् । राज्यले राष्ट्रिय चाडको रुपमा विकास गर्न खोज्ने तर यहाँकै नागरिकले बहिस्कार गर्ने वातावरण किन बन्यो ? आदिवासीले दशैं बहिस्कार गर्नुपर्ने कारण के हो ? यसै विषयमा समाजशास्त्री डा. कृष्ण भट्टचनसँग दृष्टिन्यूजका प्रकाश चाम्लिङले गरेको कुराकानी प्रस्तुत छः

दशैंबारे तपाईंको दृष्टिकोण के हो ?
आदिवासीहरुको लागि दशैं ‘वनमारा झार’ हो । यो झार चारैतिर फैलिएपछि रैथाले विरुवा मासे झै दशैंले आदिवासीको सांस्कृतिक अस्तित्व मासिदिन्छ । त्यसकारण दशैंलाई छोटकरीमा भन्ने हो भने– ‘बनमारा झार हो ।’ सैद्धान्तिक रुपमा व्याख्या गर्ने हो भने दशैं‘आदिवासीमाथि उपनिवेशवादी प्रहार हो ।’ लादिएको विषय हो ।

आदिवासीका सबै कुरा अन्तरसम्बन्धित्, अन्तरनिर्भर हुन्छन् । हामी पृथ्वी र प्रकृतिलाई सबैभन्दा बढी केन्द्रविन्दुमा राख्छौँ । त्यसैले हाम्रो जीवन पद्धतिसँग दशैं मेल खाँदैन । भूमि भुभाग, स्रोत, प्रथाजनित स्वःशासन पद्धति, मातृभाषा हाम्रो केन्द्रविन्दुमा हुन्छन् । हाम्रो शक्तिको स्रोत पितृहरु हुन् । पुर्खाहरु हुन् ।

दशैं जस्ता चाडहरु समाजिक सद्भावका लागि भन्दै आदिवासीहरुले मान्न थाल्यो भने वनमारा झारले रैथाने विरुवालाई सिध्याएझैँ आदिवासीहरुको भाषा, धर्म, संस्कार, संस्कृति, ज्ञान र सिप सबै समाप्त हुन्छन् । आदिवासीहरुले दशैं त हो भनेर मान्न थाल्यो भने हाम्रा सन्ततीका लागि उपनिवेशबाहेक केही रहँदैन ।

दशैं हिन्दू समुदायका लागि महान चाड हुनसक्छ । तर, आदिवासीका लागि डरलाग्दो कुरा हो । आदिवासीहरुले दशैं मान्दै जाने हो भने आदिवासीका मौलिक संस्कार संस्कृति समाप्त हुँदै जान्छ ।

आदिवासी जनजातिले दशैं बहिस्कार गर्नुको कारण के हो ?
विभिन्न वहानामा राज्यले आदिवासीको सबैकुरा खोसेको छ । हाम्रो भूमि लुटिएको छ । स्रोतमा राज्यले कब्जा जमाएको छ । हाम्रा धर्म, संस्कार, संस्कृति, रितिरिवाज र परम्परा राज्यले तहसनहस पारेको छ । त्यसपछि हिन्दू धर्मावलम्बीको चाड हामीलाई लादिएको छ । हाम्रा सबै उपगमहरु मास्ने हतियारको रुपमा राज्यले हिजो र आज पनि दशैंलाई प्रयोग गरिरहेको छ ।

यस्तो अवस्वस्थामा आदिवासीले आफूलाई सिध्याउँने कुरा किन मान्ने ? किन संसर्ग गर्ने ? यी प्रश्नहरु नै दशैं बहिस्कारका उत्तर हुन् । राज्यले जबरजस्ती लादेको कुराले मेरो अस्थित्व नै समाप्त हुन्छ भने किन मान्ने ? भन्ने बुझाइको आधारमा दशैं बहिस्कार सुरु भएको हो । आफू जोगिए आफ्ना कुरा जोगिन्छन् भन्ने आदिवासीले बुझेका छन् । राज्यले आदिवासीको सबै कुरा समाप्त पारेर आफ्नो कुरा लाद्न खोजेका कारण प्रतिवाद स्वरुप जन्मेको कुरा हो, ‘दशैं बहिस्कार ।’

आदिवासीमध्ये पनि केहीले मनाउने र केहीले बहिस्कार गर्ने वातावरण कसरी बन्यो ?
आदिवासी समुदायमा दशैं बहिस्कार गर्ने या परित्याग गर्ने भन्ने विषयमा बहस हुने गरेको छ । ‘बहिष्कार शब्द कडा भयो’ भन्नेहरुले ‘परित्याग गरौँ न अरुलाई किन चित्त दुखाइ राख्नु, हाम्रो चाड धुमधामका साथ मनाऔँ । आफ्नो चाडको रौनक आफैँ आउँछ नि’ भन्ने पनि छन् । बहिस्कार वा परित्याग जे भने पनि त्यो ‘बहिस्कार’ नै हो । यसमा कुनै समस्या छैन ।

राज्यले लामो समयदेखि जबरजस्ती दशैं मान्न लगाएको छ । त्यसकारण कतिपयमा उहिलेदेखि मनाइ आएको चाड कसरी छोड्ने वा बहिस्कार गर्ने ? भन्ने दुविधा छ । कतिपयमा ‘सद्भावकै लागि भए पनि दशैं मान्नुपर्छ’ भन्ने मान्यता पनि छ । तर, यस्तो मनोभावले आदिवासीका आफ्नै चाडपर्वहरु झन हराउँदै जान्छन् । त्यसैले आदिवासीले दशैं मान्नु भनेको आत्मघाती कदम हो ।

यो कारण दशैं बहिस्कार गर्नुपर्छ । राज्यले आदिवासलाई दशैं थोपरेको कुरा हो । आदिवासीका लागि दशैं बाध्यात्मक बन्यो । गलत मनासयबाट दशैं मानाउन लगाइयो । राज्यबाट दशैंलाई रौनकता प्रदान गर्ने काम हिजो पनि भयो आज पनि हुँदै आएको छ ।

दशैंमा सरकारले धुमधामका साथ बिदा दिँदै आएको छ । दशैंलाई प्राथमिकतामा राखेर पाठ्यक्रमहरु बन्ने क्रम अझैपनि रोकिएको छैन । देशका सबै सञ्चार माध्यमहरुलाई दशैंको महिमा व्याख्या गर्न लगाइएको छ । ‘बाफ रे बाफ दशैं !’ भन्ने वातावरण राज्यले नै बनाएको छ । यी सबै कुराले दशैं मान्न कतिपयलाई बाध्य बनाएको छ ।

दशैंमा राज्यले सरकारी निकायहरुमा लामो समय विदा दिन्छ । तर, आदिवासीको चाड राज्यलाई थाहा नै हुँदैन । मिडियाले पनि दशैंबारे अन्धाधुन्ध प्रचार गर्छन् । तर आदिवासीको चाड वास्तै गर्दैनन् । यी सबै कुरा देखेपछि त्यसको प्रभावबाट मुक्त हुन गाह्रो हुन्छ । सबै मानिस इतिहासबारे जानकार हुँदैनन् । आफूलाई कसले शोषण, दमन, उत्पीडन गरिरहेको छ ? भन्नेबारे सबै सचेत हुँदैनन् ।

आफ्नो हो वा होइन भन्नेबारे आदिवासी जनजाति नै भ्रममा छन् ?
यहाँ राज्य उपनिवेश हावी छ । राजनीतिक दलका प्रमुख बाहुन क्षेत्रीहरु छन् । उनीहरुको धर्मचाहिँ हिन्दू हो । चाड दशैं हो । राजनीतिक दलले पनि दशैंको रौनकता थप्न उत्तिकै भूमिका खेलेका हुन्छन् । उनीहरु दशैंका शुभकामना बाड्छन्, टिका लगाएको प्रचार गर्नछन् । तर, आदिवासीको चाड पर्वहरुमा उनीहरु चुपचाप बस्छन् । यसरी राज्यका प्रमुख व्यक्तिहरुले प्राथमिकतामा राखेर मनाए पछि उनका कार्यकर्ता र आम जनताले गर्ने त्यही नै हो । त्यसैले आदिवासी समुदायलाई पनि दशैं आफ्नै चाड हो कि भन्ने भ्रम सृजना भएको छ ।

आदिवासी समुदायमा अझैपनि ‘कुन आफ्नो, कुन अर्काको’ भन्ने कोणबाट चेतना विकास भएको छैन । सचेत गराउने काम भएको छैन । आदिवासीहरुको इतिहास, कथाहरु, आदिवासीहरुको चाडपर्वहरुबारे सुनाउने, पढाउने काम भएको छैन । यी कारणहरुले आदिवासी समुदायभित्र पनि दशैं मान्ने र बहिस्कार गर्ने देखिएका हुन् । ‘दशैं हाम्रो चाड होइन, राज्यले जबरजस्ती लादेको कुरा हो’ भनेर बुझेकाहरुले बहिस्कार गर्दै आएका छन् । हाम्रो होइन भनेर नबुझेकाहरुले मनाउने हुन् । विस्तारै उनीहरुले पनि बुझेपछि मनाउन छोड्छन् ।

कुनै जाति, धर्म वा समुदायको चाड पर्व बहिस्कार गर्दा नकारात्मक सन्देश जाँदैन ?
रोटी दोहोरो पाक्छ । एकोहोरो पकायो भने त्यो डढ्छ । दोहोरो भन्नुको अर्थ– अर्को पक्षले पनि आदिवासीको चाड उत्तिकै धुमधामका साथ मनाउनु पर्‍यो, राज्यले आदिवासीको चाड पर्वहरुमा पनि उत्तिकै रौनकता ल्याउनुपर्यो, उत्तिकै विदा दिनु पर्‍यो नि ! कि कसैलाई पनि विदा हुनु भएन ।

त्यसकारण, सद्भाव भनेर एउटाले चाहिँ मान्दिनु पर्ने अर्कोले चाहिँ मान्नु नपर्ने ? यो कुरा चाहिँ हिन्दु धर्मावलम्बीहरुले किन बुझ्दैन ? मलाई अनौंठो लाग्छ । सद्भाव भनेको एउटाको सद्भाव अर्कोले पनि देखायो भने मात्रै सद्भाव हुन्छ । तर, यहाँ सन्तुलन छैन । राज्यले जबरजस्ती लादेको कुरा बहिस्कार गर्दा कसैले ‘सद्भाव कायम भएन’ भन्छ भने स्वीकार गर्न तयार छौँ । उनीहरु हाम्रो अस्तित्व स्वीकार्न तयार छन् भने हामीले उनीहरुको अस्तित्व स्वीकार गर्नुमा केही समस्या छैन । तर, एकोहोरो रोटी पाक्दैन । राज्य उपनिवेशवाद र ब्राम्हणवादविरुद्ध जुन लडाइँ छ त्यो लडाइँ एकदिन सफल हुन्छ ।

गर्नु पर्ने, दशैं बहिस्कार हो कि दशैं लाद्ने राज्यको प्रवृत्ति ?
तपाईंसँग आँट साहस भए बहिष्कार नै गर्नुस् । बहिष्कार भन्ने शब्द कडा लाग्यो भने परित्याग गर्नुस् । परित्याग पनि कडा लाग्यो भने ‘आफ्नो चाडपर्व मात्रै मनाऔँ, अरुको नमनाऔँ’ भन्नुस् । राज्यको प्रवृत्तिको विरोध गर्नुपर्छ दशैंको पनि गर्नुपर्छ । दशैं हिन्दूले मानोस्, अरुले ३६५ दिनै मानुन् हामीलाई केही आपत्ति छैन । तर, हिन्दूले राष्ट्रिय चाड भन्दै मान्दैमा आदिवासीहरुले पनि मान्नुपर्छ भन्ने जस्ता कुराहरु कोही कसैबाट हुनु हुँदैन ।

जस्तो राम र रावणको कथा जुन छ, रावण भनेको त आदिवासी हो । राम र हनुमान त काल्पनिक हुन् । तर, रावण त वास्तविक हो । आदिवासीलाई हामीले रावणको रुपमा चित्रण गरेको मात्रै हो । रामहरुले झेली गरेर रावरणहरुलाई हराउँदै लडाइँ जितेका थिए । त्यसरी नै नेपालका शासकहरुले झेली गरेर थारु, याक्थुङ र खम्बुलगायत आदिवासीको भूमि खोसेको छ ।

भन्नुको मतलव सद्भाव भनेको बराबर शक्ति भएकाहरुको बीचमा हुन्छ । बराबर शक्ति हुनुपर्यो । एउटाचाहिँ शक्तिको हैकममा राँइदाइँ गर्ने अनि अर्कोले चाहिँ उसले जे भन्यो त्यहि मान्नुपर्ने ? त्यो हुने कुरा होइन । त्यसैले, कसैले जबरजस्ती मान भन्दैमा मान्ने कुरा आउँदैन ।

चाडपर्वहरु भूमि वा भूभागसँग जोडिएका हुन्छन्, त्यतिकै हुँदैन । अर्को कुरा, सामुहिक जीवन पद्धतिहरुसँग जोडिएको हुन्छ । यसमा आदिवासी ज्ञानका कुराहरु पनि जोडिएका हुन्छन् । चाडपर्वहरुको आख्यान मातृभाषासँग जोडिएका हुन्छन् । प्रथाजनित कानुनसँग पनि जोडिएका हुन्छन् । स्वशासन पद्धति र स्वशासित संस्थाहरुसँग पनि जोडिएका हुन्छन् । त्यो सबै अन्तर्निहित हुन्छ ।

उपनिवेशीकरणको नीतिअनुरुप राज्यले प्रयोग गरेको दशैं नै हो । जे कुरा आउँछ प्रतिरोध त्यसैको गर्ने हो । दशैं बहिस्कार गर्नुको अर्थ निश्चित कुनै जातिको चाड बहिस्कार गर्नु भन्ने अर्थमा मात्र बुझ्ने होइन । विरोध वा बहिस्कार गर्ने राज्यको प्रवृत्ति नै हो । राज्यको प्रवृत्ति दशैं स्वरुपमा हामीमाथि थोपरिएको हो । त्यसैले दशैं नै हो बहिस्कार गर्ने ।

दशैंप्रति राज्यको दृष्टिकोण कस्तो पाउनु हुन्छ ?
राज्यसत्ता बाहुनवादीको कब्जामा छ । उसले कुनै हालतमा छोड्नेवाला छैन । पाइन्जेलसम्म राइँदाइँ, थिचोमिचो, शोषण, दमन गरिरहन्छ, गरिरहेको छ । आदिवासीहरुको भूमिहरु लुटेको छ । आदिवासीहरुको मात्रृभाषालाई कपुर उडाएजस्तो उडाएको छ । आदिवासीहरुको पहिचानलाई सिध्याउने काम भइरहेको छ । आदिवासीहरुको ज्ञान, सिप, प्रथाजनित स्वःशासन पद्धति सबै ध्वस्त पारेको छ । राज्यको एकशुत्रीय अभियान नै हो ।

महेन्द्रले एउटै राजा एउटै देश, एउटै भाषा एउटै भेष भने । आज त्यसैलाई निरन्तरता दिइँदै छ । त्यसैको निरन्तरतास्वरुप अझैपनि हिन्दुसँग सम्बन्धित चाडपर्वहरु लादिएको छ । अरुलाई मास्ने काम चलिरहेकै छ । आज पनि हिजो जसरी नै दशैंको नाममा अरु जाति, धर्म र समुदायको चाडवर्प मास्ने राज्यको नीति कामय छ । दशैंलाई अहिले पनि अरु मास्ने अस्त्रको रुपमा राज्यले प्रयोग गर्दै आएको छ ।

धार्मिक तथा सांस्कृतिक चाडहरुले सामाजिक सद्भाव कायम गर्छ भन्ने मान्यता रहँदै आएको छ । पछिल्ला बहसहरुले सामाजिक सद्भाव कायम गर्छ या खाडल बनाउँछ ?
दशैंलाई सामाजिक सद्भाव कायम गर्ने मानकको रुपमा स्थापित गर्न खोजिएको मात्र हो । के याक्थुङहरुले मनाउने चासोकले सामाजिक सद्भाव बढाउँदैन ? खम्बुहरुले मनाउने साकेलाले सामाजिक सद्भाव कामय गर्दैन ? थकालीले मनाउने चाडले सामाजिक सद्भाव बढाउँदैन ? खाली दशैंले मात्रै बढाउने हो ? हिन्दूहरुले मनाउने चाडले मात्र सद्भाव बढाउने हो ? कुरा त्यसो होइन । आफ्नो चाडपर्वले सामाजिक सद्भाव कायम गर्छ भन्ने तर अरु समुदायको चाडपर्वको मतलव नै नगर्ने ?

हिन्दूले धुमधामका साथ दशैं मनाओस्, टिका लगाएर आर्शीवाद लिओस्, खसी काटेर मिठो मसिनो खाओस् । त्यो उनीहरुको कुरा हो । हामीलाई मतलव हुने कुरा होइन । सद्भाव त ‘तपाईंहरुले दशैं मान्नु पाउनु हुन्न’ भन्दा पो बिग्रेला । जबरजस्ती आफ्नो चाड अरुलाई मान्न लगाउँदा पो बिग्रेला । ‘तिमीहरुको चाड मान्दैनौँ, हाम्रो आफ्नै चाड मान्छौँ’भन्दा कसरी सद्भाव बिग्रन्छ ? उनीहरुको चाड हामीले मान्दा सद्भाव हुने, हाम्रो चाड उनीहरुले मान्दा दुर्भाव हुने ? यो कस्तो मनोवृत्ति हो ?

हाम्रो चाड मान्दा उनीहरुले दुर्भाव मान्छन् भन्ने हामीले उनीहरुको चाडको विरोध किन नगर्ने ? आफ्नो चाडमा दुर्भाव राख्नेहरुको चाडमा हामीले दुर्भाव राख्दा सद्भाव खलल हुने ? यो हुन सक्दैन । सद्भावमा त बराबरीको हैसिएत हुनुपर्यो नि । कानुनी वा राजनीतिक सबै हिसावले बराबरी हुनुपर्यो नि । अनि पो बराबरीको कुरा आउँछ । शक्ति जति आफू कुम्ल्याएर अरुलाई नियन्त्रण गर्न खोज्ने ? अनि अरुले चाहिँ जे कुरा पनि हस् हस् भनेर मान्नुपर्ने ? दास हुने कुरा स्वीकार्य छैन । पहिले उपनिवेश अन्तय हुनुपर्छ ।

धर्म, संस्कार संस्कृति, रितिरिवाज र परम्पराप्रति राज्य र समाजको धारणा कस्तो रहनुपर्छ ?
राज्यले हिन्दूको चाड दशैंलाई मात्रै केन्द्रविन्दुमा राखेको छ । आदिवासीहरुको चाडहरुलाई भोट लुट्ने अस्त्रको रुपमा मात्र बुझेको छ । राजनीतिक रुपमा आदिवासीको भावनामाथि खेलवाड गर्ने काम भएको छ । यस कारण हिन्दूको चाडजस्तै आदिवासीको चाड राज्यको प्राथमिकता पर्दैन ।

नेपाल धर्म निरपेक्ष राष्ट्र हो । त्यसको अर्थ यहाँ बहुधार्मिक समुदाय बस्छन् भन्ने हो । नेपाल बहुसांस्कृतिक मुलुक हो । यहाँको सामाजिक संरचना बहुजातिय हो । यो अर्थमा राज्यले सबै जाति, धर्म र समुदायको हरेक कुरालाई समान रुपमा हेर्नुपर्ने हुन्छ । कसैलाई काखा र कसैलाई पाखा लगाउने काम राज्यबाट हुँदै आएको छ, त्यो अन्त्य हुनुपर्छ ।

राज्यले हिन्दूहरुको दशैंलाई प्राथमिकतामा राख्नेनै भयो नि । तर, गैरहिन्दू समुदायको चाडलाई किन प्राथमिकतामा राख्न नसकेको हो ? मुख्य कुरा यहाँ छ । राज्य तहबाट हुँदै आएको विभेद स्वीकार्य छैन । सबै जाति, धर्म र समुदायप्रति राज्यको दृष्टिकोण समान हुनुपर्छ ।

पहिला राज्य भनेको धार्मिक हुन्थ्यो, धर्मबाटै शासित हुन्थ्यो भन्ने उपनिवेशवादीहरुको धारणा हो । आदिवासीहरुको धर्म हुँदैन, आस्था हुन्छ । सबैकुरा अन्तरसम्बन्धित हुने भएकाले धार्मिक र अधार्मिक हुँदैन । प्रथाजनित स्वः शासन पद्धति अन्तरगत चल्ने हो । त्यसमा सामुहिक निर्णय, सामुहिक सहभागीता र सामुहिक फाइदाका कुराहरु हुन्छन् । व्यक्तिगत कुनै पनि हुँदैन ।

हिन्दूहरु व्यक्तिवादी धर्म सम्प्रदायमा आधारित छन् । संविधानमा धर्मनिरपेक्ष राज्य भन्ने तर बाहुनवादी खस आर्य नश्लवादको धर्मलाई नै केन्द्रमा राख्ने ? संविधानमा धर्मनिरपेक्ष भनिएता पनि शासक निरपेक्ष हुन सकेका छैनन् । राज्यको चरित्र यस्तो छ ।

आदिवासी सिद्धान्तमा भन्ने हो भने धर्म एउटा पाटो मात्रै हो । तर उपनिवेशवादी बाहुनवादीहरुको स्वःशासन पद्धतिमा चाहिँ धर्मले शासन गर्छ । तर, धर्म र शासन छुट्टाछुट्टै हुन् । धर्म व्यक्तिको आस्थाको कुरा भयो । उसले जे मान्छ त्यो दिने हो । राज्यले धर्ममा हस्तक्षेप गर्नु हुँदैन । तर, नेपालमा त्यस्तो छैन ।

आदिवासीहरुले गोरु काटेकै कारण जेल जानु परेको छ । गाई त बाहुनहरु आफैँ खान्थे पहिला, बिचमा छोडेका हुन् । राष्ट्रिय जनावर भएकै कारण खान नहुने भन्ने त हुँदैन नि । म अष्ट्रेलिया गएको बेला कंगारुको मासु खाए, कांगारु त्यहाँको राष्ट्रिय जनावर हो । मलाई जेल हालेनन् त ! तर यहाँ चाहिँ खानु हुँदैन भनेर हिन्दू धर्मसँग जोड्ने गरिन्छ । मान्छे मारेको सरह सजाय दिइन्छ । जबकि हाम्रो आफ्नो प्रथा परम्परा अनुसार गाईगोरुको मासु खाने नै हो । अनि त्यसलाई अपराधीकरण गर्ने ?

संवैधानिक र व्यवहारिक रुपमा धर्मनिरपेक्ष भयो भने सबैको कल्याण हुन्छ । धर्मनिरपेक्ष राज्यले निहीत कुनै धर्मको पक्षपोषण गर्दै कुनै जाती वा समुदायलाई अपराधीकरण गर्दै जाने हो भने दशैं बहिस्कारको कुरा चलिरहन्छ । राज्य उपनिवेशविरुद्ध संघर्ष जारी रहन्छ । राज्यको नीति यस्तै रहने हो भने कुनै दिन रगतको खोलो बग्ने दिन आउन सक्छ । त्यस्तो दिन कसैका लागि पनि राम्रो हुँदैन । त्यसकारण राज्यले सबै जाति, धर्म र समुदायलाई समान हैसियत दिने हो । सबैलाई समान सम्मान गर्ने हो ।

प्रतिक्रिया दिनुहोस्