Logo
Logo

चलायमान हुँदै अर्थतन्त्र



धनुषा । हरेक वर्ष बजारले दसैंलाई नयाँ–नयाँ रौनकता सहित स्वागत गर्दछ । कोरोना कहरले सुस्ताएको प्रदेश नं २ को जनकपुरधाममा पछिल्लो समय चहलपहल बढेको छ । विगतका वर्ष कोरोना कहरका कारण बजार सुनसान रहेका थिए ।

किराना सामानदेखि लत्ताकपडा, गरगहना, सवारीसाधन पसलमा किनमेल गर्नेको भीड अत्याधिक देखिएकोछ । यसैगरी सार्वजनिक सवारीसाधन तथा एयरलाइन्समा यात्रुको बढोत्तरी देखिएको छ । दसैं र लगत्तै पर्ने तिहार र छठलाई केन्द्रीत गरेर विक्रेता तथा सेवाप्रदायकले विभिन्न ‘अफर’ सार्वजनिक गरिरहेका छन् ।

उपभोगमा आधारित अर्थतन्त्रमा कूल उपभोगको एक तिहाइ दसैंमा उपभोग हुने बताइएको छ । लामो बिदा र घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर मनोविनोद गर्ने, एकआपसमा खुसी साटासाट गर्ने र मान्यजनको आशीर्वाद लिने पर्वका रुपमा दसैंलाई लिइन्छ ।

अर्थविद् उज्ज्वल दाहालले घरयासी खर्चको एकतिहाइ खर्च दसैं सहित चाडपर्वमा हुने गरेको जानकारी दिए । उनले भने, “उद्योगी व्यवासायीले दसैं, तिहार र छठपर्वसंगै वस्तु र सेवाको व्यापारका लागि नयाँ नयाँ अफर सहित ग्राहकलाई लोभ्याउने भगीरथ प्रयत्न गर्दछन् । दसैंको व्यापारले वर्षभरीको व्यापारको चक्रलाई ठूलो भरणपोषण गर्छ । ”

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले पर्वका अवसरमा विक्री वितरण बढ्नु स्वाभावित भएको जानकारी दिन्छन् । उनले भने, “टिकाउवस्तु फर्निचर, इलेक्ट्रोनिक्स, ग्याजेट लगायत (ड्युरेबल्स) का खरिदकर्तालाई दसैंको अफर नै पर्खेर बस्ने बानी लागि सकेको छ । अहिले इन्टरनेट सेवाप्रदायक, ट्राभल एजेन्सी, दूरसञ्चार सेवाप्रदायक तथा होटल/रेस्टुरेन्टले दसैं लक्षित प्याकेज बिक्री गर्न थालेका छन् । ”

दसैं मनाउन आ–आफ्नो गाउँघर आउनेको क्रम जारी छ । सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ । बजारमा पैसा चलायमान हुने भएकाले दसैंलाई अर्थतन्त्र चलायमान बनाउने एउटा प्रमुख पर्व भएको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ ।

दसैं तिहारलाई लक्षित गरी नयाँ सवारी साधन खरिदमा छुट तथा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा यही बेला हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको हो ।

“पहिले पनि दसैंं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो । पहिले दसैंं विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेका नेपालीले यही अवसरमा लत्ताकपडा सहित सामानको किनमेल गर्ने गर्दछन् । कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ। ” उनले भने ।

अन्य महिनाका तुलनामा दसैंमा करिब २५ देखि ३० प्रतिशत बढी रकम ‘रेमिट्यान्स’ भित्रिने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । सोही तथ्याङ्क अनुसार औषतमा दसैं, तिहार तथा छठका अवसरमा करिब रु १०÷१५ अर्ब रेमिट्यान्स स्वदेश भित्रिन्छ । यसमा भारतमा काम गर्न गएका नेपालीले दशैंमा घर फर्किदा लिएर आउने रकम भने जोडिएको छैन ।

अर्थविद्का अनुसार दसैं अघिका दुई–तीन हप्ताका अवधिमा वर्षभरिको कूल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुने गर्दछ । अर्थशास्त्री डा सुरेन्द्र लाभले भने, “दसैं, तिहार तथा छठ पर्वसम्म बजारमा करिब रु पाँच अर्बको कारोबार हुने गर्दछ । चाडपर्वको आर्थिक पाटो वास्तवमा नै बृहत्त छ । ”

ब्र्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष प्रहलाद क्षेत्रीको अनुसार छुट तथा विभिन्न आर्कषक योजनाका कारण पनि पर्वका समयमा बजारमा चहलपलह तथा रौनक बढेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्