मधेसका गाउँ शहरमा ‘दसहारा’को रौनक « Drishti News – Nepalese News Portal
Logo

मधेसका गाउँ शहरमा ‘दसहारा’को रौनक


सन्तोष साह


काठमाडौं । धुमधामका साथ मनाइने दशैं पर्वको तराई मधेसमा छुटै महत्व रहेको छ । हिमाल, पहाडमा दशैं भनेर मनाईने यो विशेष पर्वलाई मधेसमा दसहारा एवं बिजया दशमीको नामले मनाइन्छ ।

दुर्गा भवानी, लक्ष्मी, गणेश, लगायतको मूर्ति बनाउँने र पूजा गर्ने प्ररम्परा मधेसका गाउँ देहात एवं शहरमा रहेको छ । साथै महिषासुरको पनि मूर्ति बनाइएको हुन्छ । माटोका मुर्ति बनाउँन स्थानिय साथै भारतबाट पनि कालिगढहरु मगाउँने गरिन्छ । मधेसका गाउँ देहात एवं शहरहरुमा विभिन्न समिति बनाएर पूजापाठ गर्दै रमाइलो गर्ने चलन रहेको छ । यसरी गरिने पूजा र सोमा लाग्ने खर्च प्रत्येक घर घरका साथै स्वेच्छिक रुपमा चन्दा संकलन गरिन्छ । यस्तो पूजापाठमा जातिय छुवाछुत नगरी हिन्दू जाति भित्र रहेका हरेक जाति सहभागी हुन्छन् ।

मठमन्दिरका पुजारीले राखेको कलस र जमरा गाउँका सर्वसधारणलाई पुजारीले नै आर्शीवाद दिँदै कानमा लगाइदिन्छन् । मठमन्दिरमा समेत विशेष गरी पूजापाठ हुने गर्छ । मन्दिरका पुजारीले दसहारा अवधिभर विशेष पूजा गर्नुका साथै सर्वसधारणलाई आर्शीवाद दिने प्रचलन रहेको बारा प्रसौनी–६ बेलहियास्थित शंकर मन्दिरका पुजारी रामाकान्त दासले बताए । यो अवधिमा पूजापाठ गर्नाले आफूले इच्छाएको कुरा पूरा हुने विश्वास रहिआएको उनको भनाइ छ ।

दसहारा अवधिभर गाउँ देहातको दक्षिणी कुनामा रहेका ब्रह्मबाबाको पूजापाठ पनि गर्ने गरिन्छ । शुद्ध तोरीको तेलले दियो बाल्ने र झकिझकाउँ गरी पूजापाठ गर्ने प्ररम्परा रहँदै आएको छ । यसैबीमा रमाइलो गर्नका लागि ठाउँ ठाउँमा रामलीला, अल्लाह रुदल, बिर्जाभार लगायतका स्थानीय सांस्कृतीक कार्यक्रमहरु आयोजना गरिएका हुन्छन् ।

नेपाल भोजपुरी प्रतिष्ठान बाराका अध्यक्ष रामप्रसाद साहले दसहाराको महत्व विभिन्न दृष्टिकोणले महत्वपूर्र्ण रहेको बताउँछन् । दसहारा प्ररम्परागत धार्मिक, सांस्कृतिक प्रचलन रहेको र अहिले पनि युवामा यो प्ररम्परा कायम नै राख्ने सोच रहेको अध्यक्ष साहले बताए ।

केही समय यता खर्चिलो एवं तडकभडकका साथ मनाउँने प्रचलन पनि बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरे । अध्यक्ष साह भन्छन्, ‘दसहारा हाम्रो प्ररम्परागत रुपमा रहेको धार्मिक, सांस्कृतिक सम्पत्ति भएकाले यसमा विकृती भित्रनु दिनुभएन्, धार्मिक आस्था एवं विश्वासका साथ यसको संरक्षण गर्नुपर्छ ।’

मधेसका गाउँ देहातमा स्थानीय क्लबकै सक्रियतामा विभिन्न देवीदेवताको मूर्ति बनाएर पूजापाठ गरिए पनि मधेसकै ठूला शहरमा विशाल रुपमा खर्चिलो गरी मनाउँने गरिन्छ । केही समय यता एउटै टोल एवं शहरबजारमा सय मिटरको दुरीमै छुटाछुटै ग्रुप एवं समूहद्धारा पूजापाठ गर्ने प्रतिस्पर्धा नै चलेको छ । यसरी भइरहेको प्रतिस्पर्धा एवं होडबाजीले संस्कृतिमा विकृती भित्रदै गएको विरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक देबेन्द्र मिश्रले बताए ।

कलैया, वीरगन्ज, गौर, जलेश्वर, मलंगवा, जनकपुर, राजविराज, विराटनगर, परासी, नेपालगन्ज, भैरहवा, बुटवल, लगायत ठाउँमा समूहगत रुपमा पूजापाठ विशेष गरी प्रतिस्पर्धात्मक तरिकाले मनाउँने गरिएको छ । ठूला पण्डाल एवं झकिझकाउँ तरिकाले पूजा गर्ने गरिएको छ । यि ठाउँमा हुने पूजापाठस्थलमा मेला पनि लाग्ने गरेको छ । जहाँ भत्तजनहरु पूजापाठ गर्न आउँनुका साथै किनमेल पनि गर्ने गर्छन् ।

पूजापाठ सकेपछि माटोबाट बनाइएको मूर्ति नजिकैको नदी वा पोखरीमा सेलाउँने गरिन्छ । बाजागाजाका साथ ति मूर्ति सेलाउँने परम्परा रहेको छ । मूर्ति नसेलाउँन्जेलसम्म घरघरमा आएका छोरीलाई बिदा गरिदैन् । मूर्ति सेलाएपछि मिठो खानेकुरा जस्तै ठेकुवा, मिठाईसहित नयाँ लताकपडाका साथै छोरीलाई बिदागरी गरिन्छ ।

घटस्थापनादेखि फूलापातीसम्म माछामासु पूर्ण रुपमै बन्देज गरिएको हुन्छ । माछामासु किनबेच एवं खाने विषय कुनै निर्णय बिना नै स्वस्फूर्त बन्द भएको हुन्छ । फूलापातीका दिन खसी, बोकाको बलि दिएपछि त्यसलाई प्रसादको रुपमा खाने चलन छ । मधेसी समुदायमा त्यो प्रसाद एक्लै नभइ गाउँ देहातमा बाडेर खाने गरिएको छ । प्रसाद भन्दै छिमेकीहरुलाई थोरै भए पनि बाड्ने गरिएको हुन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई मधेसमा दसहाराको नामले चिनिन्छ । दसहारा प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत)सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्रि र दसौँ दिनलाई दसहारा भन्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्