Logo
Logo

सिभिल सहकारीका सञ्चालकविरुद्ध उजुरी बढ्दै




काठमाडौं ।
संस्थाको रकम हिनामिनाको आरोपमा पक्राउ परेका सिभिल सेभिङ्स एन्ड क्रेडिट को–अपरेटिभ्सका प्रबद्र्धक इच्छाराज तामाङलगायतको दसैं प्रहरी हिरासतमै बितेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । सिभिल सहकारीमा निक्षेपकर्ताको साढे सात अर्ब रुपैयाँ निक्षेप जोखिममा परेको छ । दुई हजार एक सय ९० बचतकर्ताले सात अर्ब ५८ करोड रुपैयाँ फिर्ता पाउन बाँकी रहेको छ ।


तामाङ लगायत सञ्चालकविरुद्ध सिआइबीमा उजुरी बढेको छ । करिब पाँच सय जनाले उजुरी दिइसकेको स्रोत बताउँछ । सर्वसाधारणको निक्षेप फिर्ता नगरी गठी गरेको तथा संस्थाको कर्जा पनि नतिरेपछि तामाङसहित संस्थाका १२ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सर्वसाधारणलाई निक्षेप रकम फिर्ता नगरेको, तर नजिकका केही सीमित व्यक्ति तथा संस्थाले भने सहकारीबाट भुक्तानी दिएको समेत खुलेको छ । सहकारीमा समस्या देखिएपछि कर्मचारी र तिनका आफन्त, सिभिल समूहकै केही संस्था र अध्यक्ष संलग्न निर्माण क्षेत्रका व्यक्तिहरूलाई भुक्तानी दिइएको पाइएको थियो ।

‘हामीले पटक–पटकको प्रयासपछि पनि निक्षेप फिर्ता पाउने अवस्था नबनेपछि सुरुमा ७५ बचतकर्ताले सिआइबीमा उजुरी हालेका थियौँ,’ सिभिल सहकारी पीडित संघर्ष समितिका संयोजक उज्ज्वल सत्यालले भने ।
तीन वर्षदेखि साधारणसभा गर्न नसकेको सिभिलले ३ असोजमा सभा गर्न सहकारी रजिस्ट्रार, हेटौँडाबाट म्याद पाएको थियो । तर, २२ असोजमा सभा गर्ने मिति तय गरेको छ । हाल सहकारीमा सञ्चालकसमेत नरहेको अवस्थामा लेखापरीक्षकको प्रतिवेदनसमेत सभाअघि बहसमा नल्याएपछि संघर्ष समितिमा आबद्ध व्यक्तिहरूले सिआइबीमा उजुरी दिएका हुन् ।

सर्वसाधारणको निक्षेप नियम मिचेर हाउजिङ क्षेत्रमा लगानी गर्दा जसरी ओरेन्टल सहकारी डुबेको थियो, त्यस्तै अवस्था सिभिल सहकारीमा आएको छ । सहकारीका संस्थापक इच्छाराज तामाङलगायतले सहकारीको पैसा हाउजिङमा लगाएर संस्थालाई कर्जा तिरेका छैनन् ।

सहकारीका स‌चालकविरुद्ध उजुरी आउने क्रम जारी रहेको सिआइबीका निर्देशक डिआइजी धीरजप्रताप सिंहले बताए । ‘एकै व्यक्तिको तीन करोडसम्म निक्षेप रहेछ,’ उनले भने, ‘७० करोड ८७ लाख १३ हजार ठगी भएको भनेर उजुरी आइसकेको छ ।’

विगत दुई वर्षदेखि संस्थाले सर्वसाधारणको ब्याज तथा साँवा फिर्ता दिन सकेको छैन । तर, सत्ताको आडमा तामाङ र उनका सहयोगीमाथि कारबाही हुन सकेको थिएन । संस्थाका हालका अध्यक्ष केशवलाल श्रेष्ठ, प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिस्टेन्ट मेनेजर मायोनानी महर्जन, एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिस्टेन्ट संगित श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुभकेतन ढुंगाना र पूर्वलेखा समिति सदस्य हरिहर लामिछानेलाई समेत सिआइबीले पक्राउ गरेको छ । प्रहरीले हिनामिनामा संलग्न भएको भन्दै सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाहलाई पनि पक्राउ गरेको छ । उनीहरूलाई ठगी मुद्दामा पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न मंगलबार अदालतले आदेश दिएको छ ।

०५७ सालमा स्थापना भएको यो सहकारीमा विगत तीन वर्षअघि समस्या सुरु भएको थियो । अन्य सहकारीभन्दा महँगो ब्याज दिएर उसले साढे सात अर्बभन्दा धेरै निक्षेप संकलन गरेको थियो । आफ्नो पुँजीको १० प्रतिशत रकम मात्र सदस्यहरूलाई कर्जा लगानी गर्न पाउने व्यवस्था भए पनि सिभिल होम्सलाई मात्र आठ अर्ब लगानी गरिएको थियो । नियामक निकायको कमजोरीले पनि अहिले सर्वसाधारण समस्यामा परेको प्रहरी अधिकारी बताउँछन् ।

सर्वसाधारणको बचतको ठूलो हिस्सा सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ को प्रावधानविपरीत एकै व्यक्ति संस्थापक रहेको विभिन्न परियोजनाहरूमा लगानी गरेको सिआइबीले जनाएको छ । लगानीबाट प्राप्त लाभ चरम बेथितिका कारण संस्थाले प्राप्त गर्न नसकेपछि समस्या सुरु भएको थियो ।

सिभिल होम्समा लगानी गरियो, बेचेको पैसा गायब
तामाङनिकट नौवटा कम्पनीमार्फत सहकारीको पैसा हाउजिङ क्षेत्रमा लगानी गरिएको थियो । तर, त्यसरी लगानीपछि घर बिक्रीको पैसा भने सहकारीमा ल्याइएन । यसबाट नियोजित रूपमा संस्थामा हिनामिना गरिएको प्रहरी आशंका छ । ‘सिभिल होम्स बेचेको पैसा कहाँ लगियो भनेर हामी खोजी गरिरहेका छौँ,’ सिआइबीका डिआइजी सिंहले भने, ‘एकातर्फ नियम मिचेर लगानी भयो भने अर्काेतर्फ पैसा नै गायब बनाएको देखिन्छ ।’

सिभिल होम्स, सिभिल इस्टेट, सिभिल अपार्टमेन्टलगायत कम्पनीमार्फत तामाङलगायत सञ्चालकले सहकारीको रकम दुरुपयोग गरेका थिए । त्यसमध्ये कतिपय लगानीमा प्रतिफल भए पनि कतिपय लगानी घाटामा गए । सुन्धाराको सिटिसी मललगायतमा भएको लगानीको प्रतिफल नआएपछि तामाङ समस्यामा परेका थिए । उनका सबै सम्पत्ति यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रोक्का गरिसकेको छ । पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्षसमेत रहेका तामाङमाथि दबाबकै भरमा सम्पत्ति शुद्धीकरणको अनुसन्धान पनि रोकिएको थियो । यसअघि समस्यामा फसेपछि उनले सिभिल बैंकमा श्रीमतीको नाममा रहेको सेयरसमेत बिक्री गरेका थिए । ‘जसरी हचुवाका भरमा हाउजिङ क्षेत्रमा लगानी गर्दा सुधीर बस्नेत डुबेका थिए, तामाङको पनि त्यस्तै अवस्था देखियो,’ अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारी भन्छन्, ‘तर, तामाङले भने सम्पत्ति लुकाएको आशंका छ ।’

प्रतिक्रिया दिनुहोस्