Logo
Logo

देखिएन दशैंको चहलपहल, पिङ नखेली मनाइयो दशैं



रामपुर (पाल्पा) । पाल्पामा पनि शुक्रवार बिहान १० बजेर २ मिनेटको शुभसाइतमा विजयादशमीको टीका लगाइएकोे छ । नेपालीहरुको महान् पर्व दशैँमा यसवर्ष यहाँ त्यति चहलपहल देखिएन ।

टीका ग्रहण गर्न र आशीर्वाद लिन नागरिकहरु घरभित्रै सीमित रहेको पाइएको छ । कोरोना महामारीको जोखिम अझैपनि रहेकाले परिवारभित्रै मान्यजनका हातबाट टीका ग्रहण गरेर दशैँ मनाइएको बताउँछन् पाल्पा रामपुरका दीपेन्द्र भट्टराई ।

“कोरोनाको असर अझैपनि कायमै छ, गतवर्ष र यसवर्ष घरपरिवारसँगै स्वास्थ्यका मापदण्ड अपनाएर टीका ग्रहण गर्ने काम भयो, बिगतका वर्षमा जस्तो यस वर्ष दशैँको खासै उमङ्ग छैन, परम्परा धान्ने काम मात्रै भयोे” उनले भने ।

पहिलेका वर्षहरुमा मान्यजनका हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिन गाउँ गाउँमा आज टीकाको दिन निकै चहलपहल हुन्थ्यो । यस वर्षको दशैँमा अघिल्लो वर्षभन्दा केही बढी भएपनि आफन्त र नातेदारसँग मात्रै टीका ग्रहण गर्ने र आशीर्वाद थाप्ने गरिएको स्थानीय रुद्र नेपाली बताउँछन् ।

उनी भन्छन्, “पहिला त टीकाको शुभसाइतमा घरमा टीका लगाएर छरछिमेक र आफन्तकहाँ राति अबेरसम्म पनि पालैपालो पुग्ने गरिन्थ्यो, अहिले त्यसरी टीका लगाउने प्रचलन हट्दै गएको छ, कोरोनाको असरले पनि होला परिवार र आफन्तबीच मात्रै टीका लगाउने गरिन्छ ।”

पिङ नखेली मनाइयो दशैँ
दशैँका बेला पिङ खेल्नुपर्छ भन्ने पुरानो मान्यता छ । वर्षमा एकपटक धर्ती छोड्नुपर्ने र दशैँमा पिङ खेलेर धर्ती छोड्नुपर्ने परम्परा रहेको बताइन्छ । यसपाली भने पिङ नखेलिकनै दशैँ मनाइएको रामपुरस्थित स्थानीय शारदा रेग्मीले बताए ।

“गाउँघरमा पछिल्ला वर्षहरुमा त पिङ राख्नै छाडे, अहिले त झन् कोरोनाको जोखिम पूरै हटेको पनि छैन । दशैँमा एक पटक भएपनि पिङ खेल्नुपर्छ भन्ने मान्यता छ ।

पिङ बिनाको दशैँ खल्लो जस्तै भयो” उनले थपे, “दशैँको टीका लगाएपछि आफन्त र साथीभाइसँग गाउँमा पिङ खेलेर रमाइलो गरिन्थ्यो” उनले भने, पिङले दशैंमा छुट्टै रौनक ल्याउँथ्यो तर पछिल्लो समयमा यो परम्परा पनि हराउँदै जाँदा दशँैमा पहिला जस्तो हर्षोल्लास देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्