फाइनल खेलमा प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध « Drishti News – Nepalese News Portal
Logo
साफ च्याम्पियनसिप

फाइनल खेलमा प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध

‘भारतीय प्रशिक्षक रिसायो भनेर नेपालको प्रशिक्षकलाई सजायँ दिने ?’


दृष्टि संवाददाता


काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई प्रतिबन्ध लगाइएको छ । आज भारतविरुद्ध हुने साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा साफले उनलाई प्रतिबन्ध लगाएको हो ।

साफको नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख छ तर लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका अलमुताइरीलाई प्रतिबन्ध लगाएको हो ।

भारतका प्रशिक्षक स्टिमाचले पनि बंगलादेशविरुद्धको खेलमा रातो कार्ड नै पाएकाले उनले पनि नेपालविरुद्ध हुने फाइनल खेल गुमाउने पक्का थियो । नेपालका प्रशिक्षक अल्मुतारीलाई समेत फाइनल खेलमा प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई दिएको हो ।

यसमा प्रशिक्षक अलमुताइरीले असन्तुष्टि जनाउँदै यो नियमविपरीत र अन्यायपूर्ण भएको प्रतिक्रिया दिएका छन् । शनिबार बिहान भर्चुअल पत्रकार सम्मेलन गर्दै यो निर्णय भारतले खेल जितोस् भन्ने चाहनाबाट प्रेरित भएको उनले बताएका छन् ।

‘मलाई लाग्छ उनीहरु (साफ पदाधिकारीहरु) नेपालको नतिजाबाट खुसी नहुन सक्छन् । उनीहरुलाई नेपालले नजितोस् भन्ने लाग्छ । मैले तयो महसुस गरिरहेको छु’, उनले भनेका छन् ।

अलमुताइरीले नेपाललाई साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा पुर्याएका थिए । बंगलादेशलाई बराबरीमा रोक्दै फाइनलमा पुगेर नेपालले इतिहास रचेको थियो ।

उनले भनेका छन्, ‘साफले अब्दुल्लाहलाई मात्रै निलम्बन गरेको होइन, नेपालको मुख्य प्रशिक्षकलाई निलम्बन गरेको हो, अब्दुल्लाह अलमुताइरी नभए पनि नेपाली टोलीले नतिजाको लागि प्रतिस्पर्धा गर्छ ।’

यो पनि

प्रतिक्रिया दिनुहोस्