Logo
Logo

काठमाडौंमा बढ्यो चहलपहल


रासस


काठमाडौं । बडादशैं (विजयादशमी)मा सुनसान प्रायः बनेको काठमाडौंमा टीकासँगै चहलपहल बढेको छ । दशैंको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी रहेको छ । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दशैंको टीका लगाउने चलन छ ।

काठमाडौं उपत्यकामा पनि दशैंको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लो रुपमा देखिएको छ । यो पटकको दशैंमा विगतका वर्षभन्दा केही बढी सङ्ख्यामा सवारी साधन सञ्चालन भएकाले पनि सर्वसाधरणलाई राहत भएको छ ।

उपत्यकामा पातलो सङ्ख्यामा भए पनि खाद्यान्न, दूध तथा तरकारीका पसल खुलेका छन् । तुलनात्मक रुपमा आज सडकमा सवारी साधन बाक्लो सङ्ख्यामा चलेका देखिन्छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज पनि काठमाडौँ उपत्यकामा दशैंको टीका र आशीर्वाद थाप्न जानेको चहलपहल बाक्लै छ । टीकाको पहिलो दिनभन्दा आज केही बढी सवारी साधन चलेका छन् । सवारीको चहलपहल बढे पनि सडकमा जामको चाप भने नरहेको ट्राफिक प्रहरीको भनाइ छ ।

ट्राफिक बत्तीका कारण पनि ट्राफिक व्यवस्थापनमा सहज भएको प्रहरीले जनाएको छ । उपत्यकामा आज अपराह्नसम्म कुनै अप्रिय घटना नभएको र सडकमा सवारी साधन निर्बाध रुपमा सञ्चालन भइरहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्