भोजपुरका तीन सांसदको तिनै खालको दशैं « Drishti News – Nepalese News Portal
Logo

भोजपुरका तीन सांसदको तिनै खालको दशैं


दृष्टि संवाददाता


भोजपुर । भोजपुरबाट प्रदेश र संघ गरी तीन निर्वाचित सांसद छन् । उनीहरु तीनैजना कम्युनिष्ट पार्टीका हुन् । चुनावताका गठवन्धन गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट प्रदेशमा २ र संघमा १ सांसद निर्वाचित भएका हुन् ।

प्रदेशको २ सांसद नेकपा एमालेको भागमा परेको थियो भने संघमा नेकपा माओवादी केन्द्रवाट निर्वाचित सांसद बनेका थिए ।

संघमा नेकपा माओवादी केन्द्रवाट सुदन किराँती निर्वाचित भए भने प्रदेशमा हाल नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिव समेत रहेका राजेन्द्रकुमार राई र नेकपा एमालेका शेरधन राई सांसद छन् ।

शेरधन राई पूर्वमुख्यमन्त्री हुन् भने राजेन्द्रकुमार राई दशैँ लगक्तै मुख्यमन्त्री बन्ने सम्भावित सांसद हुन् । यो दशैँमा तीन सांसदले आ–आफ्नै तरिकाले दशैँ मनाएका छन् ।

हाल राजेन्द्रकुमार राईले आफ्नै घर भोजपुर षडानन्द नगर पालिकाको देउरालीमा बाबाको हातबाट टीका लगाएर दशैँ मनाएका छन् भने शेरधन राई दशैँ मनाउन अमेरिका तर्फ प्रस्थान गरेका छन् । संघीय सांसद सुदन किराँती भने आफ्नै गाउका दलित समुदायसँग दशैँ मनाउन व्यस्त छन् ।

राजेन्द्रकुमार राईको दशैं
गाँउको घरमा रहेका ८० वर्षीय बाबा र ८३ वर्षीया आमाको हातबाट आशिर्वाद ग्रहण गर्न सांसद राजेन्द्रकुमार राई गृहजिल्लाको जन्मघरमा छन् । उनी बाबा आमासँग दशैँ मनाउन केहिदिन अघि गाँउ पुगेका हुन् ।

उनले बाबाको हातबाट टीका लगाउदै आशिर्वाद ग्रहण गरेको तस्वीर सार्वजनिक गरेका छन् ।

शेरधन राईको दशैं
भोजपुर क्षेत्र नं २ का निर्वाचित प्रदेश सांसद पूर्वमूख्यमन्त्री शेरधन राई दशैँको टीका अघिल्लो दिन अमेरिका उडेका छन् । ससुरालीमा दशैँ मनाउन शेरधन राई अमेरिका पुगेका हुन् ।

राईका बाबा आमा गाँउमानै रहेपनि उनी भने विहेको पहिलो वर्ष भएकाले अमेरिका प्रस्थान गरेका हुन् । उनी श्रीमतिसँगै केहिदिन अमेरिकामा दशैँका समय गुजारेर स्वदेश फिर्ने कार्यक्रम रहेको छ ।

सुदन किराँतीको दशैँ
संघीय सांसद सुदन किराँती यतिवेला जन्मगाउँ रामप्रसाद गाउँपालिकामा दलीत बस्तीमा दलित सँगै दशैँ अभियान चलाएर दशैँ मनाईरहेका छन् । उनका ७५ बर्षे बिरामी बाबालाई काठमाडौमा छोडेर सुदन किराँती दलित समुदायलाई उपहार स्वरुप लुगा वितरण गर्दै दशैँ मनाउन गाँउमा पुगेका हुन् ।

किराँतीले दशैँ मनाउन छाडेको २ दशक बढी भयो । दशैँका समयमा उनी जिल्लाकै कृषि फर्ममा हरेकवर्ष श्रम गरेर विताउथे । तर यो वर्ष विगत दिनहरुमा आफुहरुको परिवारलाई लुगा सिलाएर अर्थात फलामका औजार बनाएर सुँगुरको पुच्छर र एकमाना चामल लिने वृद्ध दलित समुदायसँग सुखदुख साट्दै दशैँ मनाउन गाँउ पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्