Logo
Logo

कपिलवस्तुमा झाडापखाला अनियन्त्रित



तस्विर फाईल

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला अझै पनि नियन्त्रणमा आउन सकेको छैन । कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा फैलिएको झाडापखालाका कारण तीन बालबालिकासहित चार जनाको मृत्यु भइसकेको छ ।

बहादुरगञ्जस्थित शिवराज अस्पतालमा उपचारका लागि झाडापखालाका बिरामीहरु आउने क्रम नरोकिएको अस्पतालले जनाएको छ । अहिले पनि दिनहुँ दुई दर्जन बढी झाडापखालाका बिरामीहरु उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट महेश चौधरीको भनाई छ ।

अस्पतालमा हाल उपचाररत झाडापखालाका बिरामीहरुको संख्या १९ रहेको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीहरुको संख्या ८७४ पुगेको र सिकिस्त बनेका ४१ जनालाई अन्य अस्पतालमा रिफर गरेको अस्पतालको तथ्यांक रहेको छ ।

सुरुवातमा झाडापखालाका बिरामीहरुको संख्या ह्वात्तै बढेपछि शय्या अभावमा अस्पतालको आँगनमा राखेर बिरामीहरुको उपचार गर्नु परेको थियो ।

झाडापखाला प्रभावित क्षेत्रको पानीको नमूना परीक्षण गर्दा एउटा नमूनामा दिसामा पाइने इकोली नामक जिवाणु फेला परेको थियो । गत शुक्रबार काठमाडौंको टेकुस्थित प्रयोगशालामा परीक्षण गर्न ल्याइएको नमूनाको विस्तृत रिपोर्ट भने अझै सार्वजनिक गरिएको छैन ।

स्वास्थ्य कार्यालय र अस्पतालका अनुसार झाडापखालाको कारण दूषित पानी र सरसफाइको अभाव भएको प्रारम्भिक अध्ययनबाट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्