Logo
Logo

भारतलाई दैनिक झन्डै रू २ करोडको बिजुली पैंचो



विराटनगर । भारतमा कोइलाको अभावमा थर्मल प्लान्टबाट विद्युत्को आपूर्ति कम हुन थालेपछि विहार सरकारले नेपालबाट अफ आवरमा ३५५ मेगावाट विद्युत् पैंचो लिन थालेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार दैनिक औसतमा २ हजार मेगावाट आवर विद्युत् भारतले पैंचोका रूपमा लिन थालेको हो ।

भारतले नेपाललाई विद्युत् विक्री गर्दा नेपाली ९ रुपैयाँ ६० पैसाको दरले विक्री गर्छ । यस हिसाबका आधारमा २० लाख युनिटको ९ रुपैयाँ ६० पैसाका दरले १ करोड ९२ लाख रुपैया बराबरको विद्युत् नेपालले भारतलाई दैनिक १२ घण्टा सापटी अर्थात् पैंचो दिइरहेको छ । सुक्खा याममा नेपालमा विद्युत्को उत्पादनमा कमी हुँदा भारतले आफूले लिएको पैंचो फिर्ता गर्छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता एवं भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले भारतको विहार राज्यमा विद्युत्को माग भएअनुसार पैंचोका रूपमा अधिकतम रक्सौलबाट ८५ मेगावाट, दुहवीबाट १५० मेगावाट, रामनगरबाट ७० मेगावाट र ढल्केबरबाट ५० मेगावाट विद्युत् गरी अहिले भारतलाई ३५५ मेगावाट विद्युत् बेलुकी ६ बजेदेखि बिहान १० बजेसम्म दिने गरिएको छ ।

सरदरमा भारतले अहिले २ हजार मेगावाट आवर विद्युत् नेपालबाट खपत गर्दै आएको छ । कहिले कम र कहिले केही बेसी लिने गरेको छ । सबै विद्युत् स्टेशनबाट भारतले विद्युत् पैंचोमा लिएको हो । नेपाल विद्युत् प्राधिकरणले सुक्खा मौसममा विद्युत् फिर्ता लिएर आपूर्ति व्यवस्थापन गर्दै आएको छ ।, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्