Logo
Logo

उजुरी नै पर्दैनन् लिमीको प्रहरी चौकीमा



हुम्ला । सहरी क्षेत्रमा प्रहरीलाई अपराध नियन्त्रण गर्न हम्मेहम्मे परिरहेका बेला हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका–६ मा भने कुनै पनि उजुरी परेको छैन । हिमालपारिको गाउँसमेत भनेर चिनिने लिमीको प्रहरी चौकीमा अहिलेसम्म कुनै उजुरी परेको अभिलेख छैन ।

तामाङ समुदायको बसोबास रहेको यो क्षेत्रमा झैझगडा, अपराध र चोरीका घटना हुँदैन । लिमी हल्जी गाउँकी टसिडोमा तामाङले हालसम्म उजुरी लिएर चौकी सुनखानीमा जानु नपरेको बताउनुभयो । उहाँले गाउँमा उच्छृङ्खल कार्य नहुने भएपछि स्थानीयवासीले उजुरी दिनु परेको छैन । वर्षौं पुरानो प्रहरी चौकी गाउँले अर्को गाउँमा जाँदा मात्र हेर्ने गर्छन् ।

वडाध्यक्ष पाल्जोर तामाङले लिमीका तीन गाउँमा कुनै आपराधिक घटना नहुने भएकोले हाइसन्चो भएको बताउनुभयो । उहाँले गाउँ–गाउँकाबीच सामान्य विवाद आए गाउँलेसँग वडामै बसेर मिलाउने गरिएकाले पनि प्रहरी चौकीसम्म पुग्नु नपर्ने बताउनुभयो ।

उहाँले चौकीका प्रहरी गाउँमा आएको देखिए रासन पानीको समस्या, उपाचार वा कार्यालय र आफन्तसँग फोन सम्पर्क गर्न आएको बुझ्नुपर्ने बताउनुभयो । लिमीका स्थानीयवासीको असल व्यवहारकै कारण हालसम्म गाउँमा कुनै अपराध वा झैझगडा नभएकै कारण मुद्दा खेप्नु नपरेको उहाँले बताउनुभयो ।, यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्