Logo
Logo

किसानलाई क्षतिपूर्ति दिन प्रभु साह र सीके राउतको माग



काठमाडौं । किसानले महिनौं मिहिनेत गरेपश्चात पाकेको अन्नबाली घर भित्र्याउने समयमा परेको वर्षाले क्षति पुर्याएको छ ।

खेतमा काटेर राखिएको धान घरमा भित्र्याउने बेलामा भएको वर्षा तथा हावाहुरीले अन्नबालीमा क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन् । बर्खायाम सकिनै लागेको बेला अकस्मात् भएको वर्षा र वर्षापछि आएको बाढीले अन्नबाली खेतबारीमै कुहिने अवस्था बनेको छ ।

केही दिनदेखि जारी अविरल वर्षा तथा हावाहुरीका कारण विशेषगरी तराई–मधेसका किसानले भित्र्याउन लागेको धानबाली नष्ट भएको छ ।

बिउबिजन, मलखाद र सिँचाइ अभाव भएतापनि जसोतसो ऋणको जोहो गरेर लगाएको बाली भित्र्याउनै लागेको बेला भएको वर्षाले क्षति पुर्याएपछि किसान समस्यामा परेको पर्साका किसान लालजीत साहले बताए ।

यसैबीच, बेमौसमी वर्षा तथा हावाहुरीका कारण देशैभरका किसानहरुका बालीनाली क्षति भएको भन्दै किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन पूर्वमन्त्री प्रभु साह र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले माग गरेका छन् ।

साहले सामाजिक संजाल फेसबुकमा पीडित किसानलाई क्षतिपूर्ति तथा राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । ‘पछिल्लो केही दिनदेखि जारी अविरल वर्षा तथा हावाहुरीका कारण देशका विभिन्न जिल्लाहरुमा भित्र्याउनका लागि काटी राखेको धानबाली नष्ट भएको छ । ऋण लिएर खेतीपाती गर्ने किसानको एक मात्र आयस्रोतको रुपमा रहेको धानबाली नष्ट हुँदा किसान मर्कामा परेका छन् । सरकारको यसतर्फ ध्यानाकर्षण गराउदै मर्कामा परेका किसानलाई तत्काल राहतस्वरूप क्षतिपूर्ति उपलब्ध गराउन जोडदार माग गर्दछु’ साहले लेखेका छन् ।

अध्यक्ष डा. राउतले सरकारसँग किसानहरुलाई तत्काल क्षति बमोजिमको राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । ‘बैंक र कम्पनी डुब्दा सरकारले जनताको करको पैसाले धनीमानीलाई उद्धार गर्नहुने तर गरिब किसानलाई सरकारले क्षतिपूर्ति किन नदिने ?’ उनले प्रश्न गरेका छन् ।

‘बिउबिजन थिएन, सिँचाइ थिएन, मलखाद थिएन, पैसा थिएन । जसोतसो किसानले ऋण लिएर भए पनि जोहो गरे । तर, बाली भित्र्याउने बेलामा यो बेमौसमी वर्षा ! बैंक र कम्पनी डुब्दा सरकारले जनताको करको पैसा हालेर धनीमानीलाई उद्धार गर्छन् । तर, गरिब किसानलाई सरकारले कहिले हेर्ने ? उनीहरूलाई क्षतिपूर्ति कहिले उपलब्ध गराउने ? उनीहरूले आफ्नो फसलको उचित मूल्य कहिले पाउने ? किसानलाई क्षतिपूर्ति दिने काम होस्’ डा. राउतले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्