Logo
Logo

बागमती प्रदेश सभाको बैठकमा एमाले उपस्थित नहुने, मुख्यमन्त्री शाक्य अल्पमतमा



काठमाडौं । बागमती प्रदेशको प्रदेश सभा बैठक आज बिहीबार बस्दै छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक दिउँसो एक बजे बोलाइएको हो ।

सत्तारुढ नेकपा (एमाले)ले भने बैठकमा उपस्थित नहुने बताएको छ । एमालेले ११ गतेसम्मका लागि बैठक सार्न आग्रह गर्दै सभामुखलाई पत्रसमेत पठाएको छ ।

गत भदौ २ गते मुख्यमन्त्री बनेकी शाक्य केही दिनमै प्रदेश सभामा अल्पमतमा परेकी थिइन् । तत्कालीन एमाले १३ जना सांसदहरूले माधवकुमार नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा छन् ।

अल्पमतमा परेपछि मुख्यमन्त्री शाक्यले असोज २३ गतेको प्रदेश सभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरिसकेकी छन् । उक्त प्रस्तावबारे आज छलफल र मत विभाजन हुने गरी बैठक बोलाइएको हो ।

१०९ जना प्रदेश सभा सदस्य रहेका बागमती प्रदेशमा विश्वासको मत पाउन ५५ सांसद आवश्यक हुन्छ । सत्तारुढ एमालेसँग भने ४३ जना सांसद मात्रै छन् ।

विपक्षी गठबन्धनको नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी) का १३ जना रहेका छन् ।

यस्तै विवेकशील साझाका तीन, राप्रपा र नेपाल मजदुर किसान पार्टीका दुई/दुई र जनता समाजवादीका एक जना सांसद रहेका छन् ।

मुख्यमन्त्रीले आज विश्वासको मत नलिने
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत नलिने भएकी छन् । बागमती प्रदेशसभाका नेकपा एमालेका सांसद अरुण नेपालका अनुसार असोज २५ गते बोलाइएको बैठकमा प्रस्ताव पेश भए पनि आज उनले विश्वासको मत नलिने भएका हुन् ।

‘आज उहाँले विश्वासको मत लिनुहुन्न । आज आफ्नो कुरा भन्नुहुन्छ। सरकारले गरेका कामका बारेमा संसदलाई जानकारी दिनुहुन्छ,’ उनले भने, ‘त्यसपछि दलका नेताहरु र सांसदले आफ्नो धारणा राख्छन्। विश्वासको मत माग्नुहुन्छ।’

प्रतिक्रिया दिनुहोस्