Logo
Logo

पाँचथर पहिरोमा परी मृत्यु हुने २६ जनाको सनाखत, ६ जना अझै बेपत्ता



पाँचथर । लगातारको वर्षाका कारण गएको बाढीपहिरो कारण मृत्यु भएका पाँचथरका २७ जनाको पोष्टमार्टम नगरी दाहसंस्कार गरिने भएको छ ।

वर्षा नरोकिएको र ज्यादै भौगोलिक विकटताका कारण सडक अबरुद्ध भएकाले पोष्टमार्टम नगरी दाहसंस्कार गरिने भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार मृत्यु भएको क्षेत्रका सम्बन्धित स्थानीय तहका जनप्रतिनिध र प्रहरीले मुजुल्का गरि दाहसंस्कार गर्ने निर्णय भएको हो । बिहीबार बिहान बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

तीन दिनदेखि मृतकको शव घटनास्थलमै त्रिपालले बेरेर राखिएको छ । अझै ६ जना बेपत्ता छन् भने ८ जना घाइते छन् । एकजना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

मिक्लाजुङ-५ पञ्चमी बजारमा मृतकहरुको व्यवस्थापन गरिँदै । तस्बिर : जीवन लिम्बू

मृतकमध्ये हालसम्ममा २६ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताए ।
उनका अनुसार मृत्यु हुनेमा फिदिम १३ लुङ्रुपाका २२ बर्षीय ममता लिम्बू, फिदिम १३ लुङरुपाकै ४ बर्षीय रोयन मगर, फाल्गुनन्द गा.पा ३ मालिङ्गेका १० बर्षीय युगेश तामाङ, मालिङगेकै फुर्वा तामाङ, फाल्गुनन्द गा.पा ४ च्याप्लुङका ३५ बर्षीया रामप्यारी तुम्बापो चोम्जोङ, कुम्बायक गा.पा वडा नं. २ लाक्तोपाका ४० बर्षीया डम्बरकुमारी शेर्मा, मिक्लाजुङ-५ का बर्ष ७५ को धनबहादुर लावती, सोही वडाको हुलाकमा बस्ने बर्ष ३६ को चन्द्रकला राई र अठभैयाका ३५ वर्षीय सन्तोष नेपाली रहेका छन् ।

त्यस्तै, मिक्लाजुङ गा.पा वडा नं. ५ सितेम्बा बस्ने ४७ बर्षीय मनबहादुर राई, ४६ बर्र्षीया बिमला श्रेष्ठ राई, मिक्लाजुङ गा.पा वडा नं. ५ पञ्चमी बर्ष ३१ को बिष्णुबहादुर लावती, बर्ष ३१ को सन्दीप लावती, सोही वडाका १७ वर्षीय अनिल राई, बर्ष १७ की अनिया चेम्बाङ, बर्ष २८ को प्रताप चेम्बाङ, बर्ष ६५ को पदमसिंह चोम्बाङ, बर्ष ३१ को सुरज चोम्बाङ र बर्ष ५५ की भद्रमाया लावती रहेका छन् ।

त्यसैगरी, मिक्लाजुङ गाउँपालिका वडा नं. ४ पञ्चमी बस्ने बर्ष २५ को बबिन राई, बर्ष २७ का अनिल राई र धनकुटाका बर्ष ६० को मगर साइलासमेत पहिरोमा परेर मृत्यु भएका छन् ।

मिक्लाजुङ गाउँपालिका वडा नं. २ नाकेदिमस्थित बर्ष ५१ का मानमती शेर्मा, बर्ष २१ का निशा शर्मा, वडा नम्बरका ७ मनमाया राई र बीरमान राई गरी २६ जनाको सजनाखत भएको विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार हाल हराएकाको खोजी कार्य भइरहेको छ । वर्षा रोकिएपनि माटो भिजेकाले पहिरो रोकिएको छैन । पहिरोका कारण विभिन्न स्थानका गोरेटा तथा सडक अबरुद्ध रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्