Logo
Logo

पप्पुको लापरबाही, ७ वर्षमा पनि बनेन टिकुलिया घाटको पुल


रुपेन्द्र पटेल



रौतहट । पप्पु कन्स्ट्रक्सनको चरम लापरबाहीका कारण सात वर्षमा पनि रौतहटको टिकुलिया घाटकाे पुल बन्न सकेको छैन । जिल्लाको गौर नगरपालिका र इशनाथ नगरपालिका जोड्ने लालबकैया नदीको टिकुलिया घाटमा सात वर्षअघि निर्माण गर्न थालिएको पुल अलपत्र परेको छ ।

पुल निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले बारम्बार लापरबाही गर्दा पुल बन्न नसकेको हो । सम्झौताअनुसार निर्धारित समयमा पुल निर्माण नगर्ने ठेकेदारलाई कारबाही भएको छैन । त्यसैले उनीहरूकै मनोबल बढेको छ ।

आफैँले प्रस्ताव गरेको समयभित्र निर्माण सम्पन्न नगर्नेलाई पटकपटक म्याद थपेर पुरस्कृत गर्ने होइन, दण्डित गर्नुपर्छ । तर, यहाँ त ठेकेदारमाथि राज्य उदार देखिएको छ । सो पुल निर्माण गर्न २६ असार ०७१ मा पप्पु कन्स्ट्रक्सनले ठेक्का पाएको थियो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुलको शिलान्यास गरेका थिए । २५ असार ०७४ मा सम्पन्न गर्नेगरी सम्झौता भएपनि थप चार वर्ष बितिसक्दा पनि ५० प्रतिशतभन्दा काम अघि बढेको छैन ।

रौतहट सदरमुकाम गौर र इशनाथ नगरपालिका जोड्ने सो पुलको लम्बाइ दुई सय २५ मिटरको हुनेछ । तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा दुई सय २५ मिटर लम्बाइ र ७।२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरेको थियो ।
पप्पुले लागत इस्टिमेटभन्दा २८ प्रतिशत कम कबोल गरी १४ करोड ९३ लाखमै निर्माण सम्पन्न गर्ने प्रस्ताव पेस गरेको थियो । टेन्डर खोल्दा सबैभन्दा कम लागतमा निर्माण गर्ने सो प्रस्ताव स्वीकृत भएपछि पप्पुले पुल निर्माणको ठेक्का पाएको थियो ।

निर्माण कार्य पूरा गर्ने लिखित गरी पप्पु कन्स्ट्रक्सनका तत्कालीन सञ्चालक हरिनारायण रौनियारले सम्झौता गरेका थिए । सम्झौतापछि भने सुरुदेखि नै पप्पुले बेवास्ता गरेको थियो । निर्माणको काम निरन्तर अघि नबढाउने, तर सम्झौता थपिरहने पप्पुसँग सडक डिभिजन कार्यालय हेटौंडाले ठेक्का तोड्ने पत्र पठाएपछि पप्पु अदालत पुग्यो । ६ महिनाअघि अदालतले तत्काल सम्झौता तोड्ने निर्णय कार्यान्वयन नगर्नू भन्ने अन्तरिम आदेश दिएको थियो ।

त्यसपछि न डिभिजन कार्यालयले पप्पुसँगको सम्झौता रद्द गर्न सक्यो, न पप्पुले काम अघि बढायो । पुल अलपत्र परेको छ । पुल नबन्दा स्थानीय हिउँदमा बाँसको पुल हालेर तथा वर्षामा डुंगा चलाएर ओहोरदोहोर गर्छन् । बर्खामा टिकुलियाघाटमा पानीको बहाव उच्च रहेकाले जोखिम बढेको छ । तर, जोखिमै मोलेर भएपनि वारपार गर्नुपर्ने स्थानीयको बाध्यता छ ।

समयमा पुल नबन्दा ठूलो सास्ती भइरहेको स्थानीय सञ्जय साहले बताउ । उनले भने, ‘बर्खामा लालबकैयामा ठूलै बाढी आउँछ । त्यस्तोमा निकै जोखिम मोलेर तर्नुपर्छ । ज्यानै जाने पनि खतरा हुन्छ ।’

पुल नबनेकाले डुंगाको सहाराले वारपार गर्ने गरेको उनले बताए । ‘लालबकैया नदीको टिकुलिया घाँटमा पटक–पटक डुंगा पल्टिने गरेको छ, साहले भने । दुई वर्षपहिला डुंगा पल्टिएर पाँच जनाको मृत्यु भएको थियो ।

बन्जरहा, औरैया, मठिया, जोकहा, वैरिया, अकोलवा, रामपुर खाप दर्जनौँ गाउँका बासिन्दालाई सदरमुकाम गौर आउन हिउँदमा बाँसको पुल र वर्षायाममा डुंगामा जोखिमपूर्ण यात्रा गर्नुपर्छ । सो स्थानमा इशनाथ नगरपालिकाबाट अस्थायी पुल निर्माण गरेको भएपनि त्यो खोलाले बगाइसकेको छ ।

पुल नबन्दा चार किलोमिटरमा पुगिने सदरमुकाम गौर पुग्न २० किलोमिटर घुमेर जानुपर्ने वा भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको इशनाथ नगरपालिकाका प्रमुख सन्तोष मेहताले बताए ।

प्रतिक्रिया दिनुहोस्