Logo
Logo
सत्तामा भागवण्डा

राजेन्द्र पाण्डे र इन्द्र बानियाँ पालैपालो मुख्यमन्त्री बन्ने



काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले आधा–आधा समय सरकारको नेतृतव गर्ने भएका छन् ।

पाँच दलीय गठबन्धनमा रहेका शीर्ष नेताहरुबीच यस्तो सहमति भएको हो । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिँदैछिन् । अल्पमतमा रहेका मुख्यमन्त्री विश्वासको मत पाउने सम्भावना छैन ।

बागमतीमा पाँचदलीय गठबन्धनको बहुमत रहेकाले अगामी सरकारको नेतृत्व कांग्रेस र एकीकृत समाजवादीले गर्ने दाबी गर्दै आएका थिए । सुरुमा बागमती र प्रदेश १ मा एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर कांग्रेसले पनि सरकारको नेतृत्व गर्ने दावी गरेपछि शीर्ष नेताहरुबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।

शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार सुरुमा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले सरकारको नेतृत्व गर्नेछन् । त्यसपछि काँग्रेस नेता इन्द्र बानियाँले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

यस्तो छ बागमती प्रदेशको अंकगणित
बागतमी प्रदेशसभामा प्रतिनिधित्व गर्ने ८ वटा दल रहेका छन् । जसमध्ये एमालेका ४३, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका ३, नेमकिपाका २, राप्रपाका २ र जसपाका १ सांसद रहेका छन् ।

विभाजन हुनुअघि एमाले सांसदको संख्या ५६ रहेको थियो । तर एमाले विभाजन भएर एकीकृत समाजवादी गठन भएपछि एमालेको सांसद संख्या ४३ जनामा खुम्चिएको हो । साना दलले यस अघि नै तटस्थ बस्ने बताइसकेका कारण शाक्यलाई आफ्नो सरकार बचाउँन समस्या छ । साना दलहरु विवेकशील साझा, नेमकिपा र राप्रपा तटस्थ बस्दा शाक्यलाई थप १२ मत आवश्यक पर्ने देखिन्छ । तटस्थ बस्ने साना दलसँग ७ जना सांसद रहेका छन् ।

बागमती प्रदेशमा जम्मा १०९ जना सांसद रहेका छन् । सरकार बनाउँनका लागि ५५ सांसद आवश्यक पर्छ । तर एमालेसँग ४३ जना सांसद मात्रै छन् । पाँच दलीय गठबन्धनको सांसद संख्या ५९ रहेको छ । त्यसैले वागमती प्रदेशमा पाँच दलीय गठबन्धनकै सरकार बन्ने निश्चित छ ।
बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको संयुक्त सरकार बन्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्