काठमाडौं । प्रतिनिधिसभाको आगामी असोज १५ गतेसम्मको कार्यतालिका (क्यालेन्डर) सार्वजनिक भएको छ। क्यालेन्डरमा कुन-कुन दिन बैठक बस्ने र ती बैठकमा के-कस्ता एजेण्डा अगाडि बढाउने भन्ने सम्भावित कार्यसूची समावेश छ।

तर, प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने उक्त क्यालेन्डरमा समेटिएको छैन। यसअघि भदौ १० गतेका लागि तय भएको प्रश्नोत्तर कार्यक्रम सोही दिन रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण स्थगित भएको थियो।
त्यसयता प्रश्नोत्तर कार्यक्रम कहिले गर्ने भन्नेबारे पुनः मिति तय हुन सकेको छैन, जबकि प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा यसबारे स्पष्ट व्यवस्था छ।
उक्त नियम अनुसार, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ।’
नियमावलीको यो व्यवस्था बाध्यकारी हो। कुनै कारणवश तय भएको दिन प्रश्नोत्तर हुन नसकेमा त्यसपछिको लगत्तै बस्ने बैठकमा सो कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रावधान छ। नियम ५६ को उपनियम (१) मा अझ स्पष्ट पारिएको छ, ‘तर उक्त दिन कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्नेछ।’
तर, नियमावलीको यो प्रावधान आगामी असोज १५ सम्मको क्यालेन्डरमा कार्यान्वयन भएको देखिँदैन। सार्वजनिक क्यालेन्डर अनुसार भदौ ३० र ३१ गते तथा असोज १, ५, ६, ७, १३, १४ र १५ गते प्रतिनिधिसभाको बैठक बस्नेछ।
यस अवधिमा प्रतिनिधिसभामा विचाराधीन विधेयकहरूलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउनेजस्ता कार्यसूची मात्र तय गरिएका छन्।















