
काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ६ मा पहिरोमा परी घाइते भएकाको उपचार गर्न गएका इलाम माङसेबुङ गाउँपालिकाका दुई चिकित्सक अझै बेपत्ता छन् ।
मंगलबार साँझ घाइतेका आफन्ताले फोनमार्फत उपचार गर्न बोलाएपछि उपचारका लागि वडा नम्बर ६ तर्फ गएका चिकित्सक सुमन राई र ठाकुराप्रसाद याक्खा अझै नभेटिएका हुन् ।
इलामको माङसेबुङ र पाँचथरको मिक्लाजुङ गाउँपालिको संगमस्थल चिसोपानी पन्चमी बजारबाट उनीहरु नजिकै रहेको वडा नम्बर ६ मा उपचारका लागि गएका थिए ।
उनीहरु चिसोपानी पञ्चमी बजार नजिक गएको पहिरोमा परेको हुनसक्ने अनुमान गरिएको छ । मिक्लाजुङ–५ का वडा अध्यक्ष अबिशन लावतीका अनुसार उनीहरुको निरन्तर खोजी भइरहेको छ । उनीहरुले प्रयोग गरेको छाता पहिरोमा भेटिए पनि उनीहरुलाई भेटिएको छैन ।
राई र याक्खा दुवै माङसेबुङ–६ स्थित बाँझो स्वास्थ्य चौकी/सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत थिए । इलाम सुम्बेक घर भएका याक्खा र माङसबेुङ २ इभाङ घर भएका राई साइनोमा साढुदाई र साढुभाई हुन् ।














