Logo
Logo

बाढी पहिराेले बाजुरामा क्षति नै क्षति


नन्दा थापा


बाजुरा । लगातारको भारी वर्षाका कारण जगनाथ गाउँपालिकामा ठूलो क्षति भएको छ । गाउँपालिकाको केन्द्र जुड्डीमा निर्माण भएका सरकारी संरचनामा जुड्डी खोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ ।

लगातार ४ दिनसम्मको वर्षाले कर्णाली नदी र जुड्डी खोलामा बहाव बढेसँगै गाउँपालिकाको केन्द्र जुड्डीमा निर्माण गरिएका प्रसाशनिक भवन र कोरोना अस्थाइ अस्पतालमा पूर्ण क्षति भएको छ । अरु ६ भवनमा क्ष्ति पुर्याएको गाउँपालिकाका सूचना अधिकारी राजेद्रप्रसाद जोशीले जानकारी दिए ।

गाउँपालिकाको प्रसाशनिक भवन, कोरोना संक्रमितका लागि निर्माण गरिएको कोरोना अस्थाइ अस्पताल लगायतका संचरनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यलय बाजुराका सूचना अधिकारी बलेन्द्र नाथले जानकारी दिए । गाउँपालिकाको भवन र कोरोना अस्थाइ अस्पताल भित्र रहेका सबै कागजात पानीले भिजेर नष्ट भएको छ ।

असोज २५ गते नै छुद्दरीमा गएको सुक्खा पहिराले कर्णाली नदी थुनिएर जगनाथ गाउँपालिकाको प्रहरी चौकी क्षेत्र कटान गर्न सुरु भएको थियो । त्यसको दुईदिनपछि कर्णाली नदी एक छेउबाट बग्न थालेपछि जुड्डीमा रहेका संरचनामा क्षति पुगेको हो ।
जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथका अनुसार जुड्डीमा रहेको प्रहरी चौकी जस्तापाताको संरचना बनाएर अन्तै सारिएको छ । यस क्षेत्रमा टेलीफोन सेवा अवरुद्ध भएका कारण बाढी पहिरोले कति क्षेती भयो भन्ने तथ्याङ्क संकलन हुन सकेको छैन ।

त्यस्तै, बुढीनन्दा नगरपालिका ३ सिराडीका बमबहादुर बोहराको घर पहिरो बगाएको छ । बोहराको दुईतले कच्ची घर बगाएको हो । पहिरोले घर बगाउदा बोहराको एक भैँसी, २ वटा गोरु, ५ वटा गाई मरेका छन् । घरमा रहेको अन्नपात, लत्ताकपडा पुरै पहिरोमा पुरिएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, जगनाथ गाउँपालिकाको जुड्डीमा अलबहादुर बमको ३ तले घर पहिरो बगाएको छ । पहिरो घर बगाउदा ६ बाख्रा मरेका छन् । स्वामिकात्तिक खापर गाउँपालिका १ मा भारी वर्षाका कारण ४३ घरपरिवार विस्तापीत भएका छन् । त्यहाँका स्थानीय नागरिकलाई विद्यालयमा राखिएका छन् ।

जगन्नाथमा १२ परिवार विस्थापित
जगन्नाथ गाउँपालिका वडा नम्बर ६ पाल्तेबाडीका १२ परिवार विस्थापित भएका छन् भने २ परिवारको घर भत्केका छन् । गोरे सार्की र चक्र सार्कीको घर भत्किएको हो । चक्र सार्कीका २ गोरु पनि पुरिएका छन् । पहिरोबाट विस्थापित १२ परिवार खिरारुख आधारभूत बिद्यालयमा आश्रय लिएर बसेका छन् ।

अम्कोटमा पुनः पहिरो सडक पूर्ण अवरुद्ध
वर्षाले साफे–मार्तडी सडक खण्ड अन्तरगत बल्देमा फेरी पहिरो गएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा दशैं मनाएर कर्मथलो जाने र आउने धेरै कर्मचारी अलपत्र परेका छन् । त्यस्तै अध्ययनको शिलशिलामा बाजुरा जिल्लाबाट बाहिर जाने विद्यार्थी बिचबाटोमै अलपत्र भएका छन् ।

टेलीफोन र इन्टरनेट बिहीबारबाट सुचारु
वर्षासँगै आएको बाढी पहिरोका कारण अवरुद्ध टेलिफोन र इन्टरनेट बिहीबारबाट सुचारु भएको छ । सोमबार रातीदेखि बन्द भएको फोन र इन्टरनेट सेवा वर्षा रोकिएपछि आजबाट सुचारु भएको हो ।

प्रतिक्रिया दिनुहोस्