Logo
Logo

सिटिइभिटीलाई राम्रो ज्ञान केन्द्रका रूपमा विकास गरौं : शिक्षामन्त्री



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को अवलोकन गरेका छन् ।

सिटिइभिटीका अध्यक्षसमेत रहेका मन्त्री पौडेलले अवलोकनपछि आयोजित कार्यक्रममा कुनै पनि दलका नेता, सांसद वा कसैको पनि दबाबमा नभई आवश्यकताका आधारमा सम्बन्धन दिन निर्देशन दिएका छन् ।

‘कुर्सीमा मात्रै बस्ने होइन, संस्था सुधार्ने काम गर्नुहोस्, सिटिइभिटीको नामै काफी छ भन्ने अवस्था बनाउनुहोस्, सबै तल्लो तहसम्म प्रभावकारी हुने गरी काम गर्नुहोस्’, शिक्षामन्त्री पौडेलले भने, ‘यहाँ आएका प्रविधिको प्रयोग प्रभावकारीरूपमा गर्नुहोस्, यसलाई राम्रो ज्ञान केन्द्रका रूपमा लैजाऔँ, यसको थप क्षमता विकास गरेर जाऔँ ।’

कर्मचारीका शत्रुका रूपमा रहेका अल्छिपना, उदासीन, लापर्वाही र भ्रष्टाचारलाई सबैले त्याग्नुपर्छ भन्दै उनले आफ्नोबारेमा सोच्ने तर संस्थाका बारेमा नसोच्ने प्रवृत्ति हटाएर भ्रष्टाचारको सोच कतै नराख्न निर्देशन दिए ।

ज्ञानलाई तालिमसँग, तालिमलाई उत्पादनसँग जोडेर लैजानुपर्ने औँल्याउँदै उनले मौलिक हकका रूपमा रहेको रोजगारीसँग जोडेर सीप र ज्ञानलाई अगाडि लैजान निर्देशन दिए ।

उत्पादनसँग जनशक्तिलाई जोडेर समाजवादतर्फ जानुपर्छ भन्दै उनले सिटिइभिटी अब आफैँ आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । उनले सिक, कमाउ र तिर भन्ने अवधारणातर्फ जानुपर्ने औँल्याए ।

रोजगारीको खोजी गर्दै सीप खोज्न आउने किसान, श्रमिक, गरिब, उत्पीडित लक्षित जनसमुदाय नै हुन् भन्दै उनले सीप खोज्न आउनेलाई रोजगारीमा आधारित ज्ञान र सीप दिनुपर्नेमा जोड दिए ।

मन्त्री पौडेलले भने– ‘उत्पादन, रोजगार र ज्ञानको केन्द्रका रूपमा अरुलाई योग्य जनशक्ति दिने गरी सिटिइभिटी अगाडि बढ्नुपर्छ, एकअर्कालाई समन्वय गरेर प्रतिस्पर्धा गरेर अन्तर समन्वय गर्दै अब ‘सिक, गर, कमाउ र आत्मनिर्भर होऔँ’, भन्ने नारा सिटिइभिटीले दिनुपर्छ ।’

सिटिइभिटीको पाठ्यक्रमलाई सुधार गर्ने, यहाँका चुनौतीको सामना गर्दै सबै समस्यालाई एकएक गरी हल गर्दै जाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्