Logo
Logo

प्रचण्डकै कारण देश अन्योलग्रस्त भयो : प्रभु साह



काठमाडौं । पूर्वमन्त्री प्रभु साहले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै कारण देश अन्योलग्रस्त एवं अस्थिर भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत साहले देशलाई अन्योलग्रस्त एवं अस्थिर बनाउँने काम प्रचण्डबाटै भएको आरोप लगाएका हुन् । उनले प्रचण्डकै कारण हजारौं योग्य नेपाली विदेश पलायन हुन बाध्य भएको समेत आरोप लगाएका छन् । सञ्चारमाध्यममा साह माओवादी प्रवेश गर्न लागेको भनेर आएको समाचारको खण्डन गर्दै उनले प्रयोजित समाचारको भ्रममा नपर्न आग्रहसमेत गरेका छन् ।

‘… अनलाइनहरुमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको छ । महान जनयुद्ध र हजारौं शहिदको अपमान गरेर कुर्सीको चक्करमा खिचडी संसदीय व्यवस्था खडा गरी देशलाई अन्योलग्रस्त एवं अस्थिर बनाउने प्रचण्डकै कारण आज हजारौ योग्य नेपाली विदेश पलायन हुन बाध्य छ’ नेता साहले लेखेका छन् ।

आफ्नो व्यक्तिगत स्वार्थका कारण माओवादी आन्दोलनलाई टुक्रा–टुक्रा गरी सिंगै देशलाई नै अस्थिरताको खाडलमा धकेल्ने प्रचण्डको नेतृत्वमा कोही पनि सच्चा माओवादी क्रान्तिकारीहरु एकतावद्ध हुन नसक्ने उनले दावी गरेका छन् ।

वर्तमान राजनीतिक संकटको अग्रगामी निकासको लागि क्रान्तिकारीहरुको ध्रुविकरण अपरिहार्य आवश्यता रहेको बताउँदै साहले त्यसका लागि आफू निरन्तर क्रियाशील रहेको जनाएका छन् । तर जनतालाई धोखा दिने अनैतिक, असफल एवं अविश्वसनिय व्यक्तिको नेतृत्वमा त्यो सम्भव नभएको आफ्नो निष्कर्ष रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्