Logo
Logo

‘अल्पमतको सरकार कुर्सीमा बसिरहनु सुहाउँदैन’



काठमाडौं । प्रदेश १ को प्रदेश सभाको बैठक आज (शुक्रबार) बस्ने भएको छ । यसअघि असोज २५ गतेका लागि तय भएको बैठक आजका लागि सारिएको थियो ।

दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री भीम आचार्यले संसद सचिवालयमा दर्ता गराएको विश्वासको मत सम्बन्धी प्रस्ताव पेश हुनेछ । गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव असोज २५ गते सचिवालयमा दर्ता गराएका थिए । शुक्रबार बस्ने बैठकमा सो प्रस्ताव टेवल गरेपछि छलफलको प्रकृयामा जाने भएको हो ।

एक सांसदका अनुसार आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने छाँटकाट देखिएको छैन ।

गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारिसकेको छ । गठबन्धनले विश्वासको मत नलिए अविश्वासको प्रस्ताव दर्ता गर्ने चेतावनी दिएको छ ।

भदौ १ मा मुख्यमन्त्रीमा नियुक्त भएका आचार्य नेकपा एमाले विभाजनपछि अल्पमतमा छन् । एकीकृत समाजवादीका सांसद राजेन्द्र राईले अनावश्यक रुपमा सत्ता लम्ब्याउन खोजेको बताएका छन् । ‘यो सरकार अल्पतमा परेको ४० दिन नाघिसकेको छ । अल्पमतको सरकार कुर्सिमा बसिरहनु सुहाउँदैन’ उनले भने ।

मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्था अनुसार असोज ८ गते नै विश्वासको मत लिनुपर्ने हो । तर व्यवस्थाविपरित सरकारको आयु लम्ब्याईएको उनको भनाई छ । ‘यसले सरकारमा गलत नजिर राखेको देखियो’ उनले भने ।

कुल ९३ सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा ४१ जना सांसद मात्रै छन् । गठबन्धनमा कांग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १० र जसपा ३ जना गरी गठबन्धनमा ४९ जना सांसद छन्।

सत्तारूढ गठबन्धनले यसअघि नै प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन गर्ने भनेका छन् । गठबन्धनले बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्