Logo
Logo

तिहार नजिकिएसँगै कुमाल समुदायको व्यस्तता बढ्यो



फाईल फोटो

महोत्तरी । चन्द्रमासले कात्तिक कृष्णपक्ष लागेसँगै प्रदेश नं २ का महोत्तरीसहितका मिथिला क्षेत्रमा मुमाल जाति समुदायको व्यस्तता बढेको छ ।

यस पक्षको अन्त्यमा पर्ने दीपावली र त्यसलगत्तै सुरु हुने छठपर्वमा माटाका भाँडाको माग बढ्ने आशले कुम्हाल यो पक्ष लागेसँगै व्यस्त भएका हुन् ।

दीपावली र छठमा कलश, दियो, घडा (गाग्रो) तथा छ्याँची (दही जमाउने भाँडा) र ढकनासहित नयाँ माटाका भाँडा प्रयोग गरिने मैथिल परम्पराअनुसार अहिले यी भाँडा बनाउने काम कुम्हाल समुदायको प्राथमिकतामा परेको हो ।

वर्षभरि अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाका भाँडा पर्वविशेषमा मिथिला परम्परामा अनिवार्यजस्तै मानिदै आइएकाले यस भेगका सबैजसो बजारमा यसको बेग्लै बजार जमेको देखिँदो छ । महोत्तरीको सुदूर उत्तरवर्ती मुख्य व्यापारिक केन्द्र बर्दिबासको मुख्यचोक र हटियामा अहिले २० भन्दा बढी माटाका भाँडा पसल थापिएका छन् ।

अन्य बेला साप्ताहिक हाट लाग्ने दिन मात्र यी भाँडाका बजार लागे पनि अहिले कात्तिक कृष्णपक्ष सुरु भएसँगै दिनदिनै माटाका भाँडाको बजार जमेको बर्दिबास व्यापार सङ्घका महासचिव भवनाथ खतिवडा बताउँछन । मिथिला क्षेत्रमा माटाका नयाँ भाँडा शुभकार्य गर्न उत्तम हुने सामाजिक मान्यताले चाडपर्वमा यसको माग बढ्ने गरेको यस क्षेत्रका उद्यमी व्यापारीको भनाइ छ ।

दीपावली र छठपर्वमा बत्ती बाल्ने दियो, कलश राख्ने घडा, दही जमाउने छ्याँची र त्यसलाई छोप्ने ढकनसहित माटाकै नयाँ भाँडा प्रयोग गरिने परम्पराले यसको कारोबारमा वृद्धि भएको माटोका भाँडा बनाउने पेशाका कुम्हालहरुको भनाइ छ । भाँडा बिक्री भएसँगै आपूmहरुको तिहार र छठपर्वको खर्च जोहो हुने गरेको कुम्हालले बताएका छन् ।

पर्वको मुख पारेर जिल्लाका बर्दिबास, औरही, सीतापुर, रामगोपालपुर, गौशाला, सम्सी र सदरमुकाम जलेश्वरसहितका नगरमा माटाका भाँडाका स्थायी स्टल नै राखिएका छन् ।

महोत्तरीबाहेकका प्रदेश नं २ का अन्य जिल्लाका बजारमा पनि माटाका भाँडाको बजार राम्रो जम्दो देखिएको छ । माटाका भाँडावर्तनको बिक्रीका लागि दीपावली र छठपर्वपूर्व उपयुक्त बेला मानिन्छ ।

विगतमा घरव्यवहार प्रयोजनमा बाक्लै माटाका भाँडा प्रयोग गरिने भए पनि अब दैनिक प्रयोजनमा यसको प्रयोग हुन छाडेकाले चाडपर्वका लागि मात्र यसको माग हुने गरेको कुम्हाल बताउँछन् । मिथिलामा दीपावली, छठ, चौरचन र दसैँ माटाका नयाँ भाँडाको माग हुने मुख्य पर्व भए पनि यसको छुट्टै बजारको चहलपहलचाहिँ दीपावली र छठपर्वको मुखमा हुने गरेको छ ।

मिथिला क्षेत्रमा दुई दशक पहिलेसम्म माटाका भाँडा दैनिक प्रचलनमा रहे पनि त्यसयता प्लाष्टिकका भाँडाको प्रयोग बढेकाले आपूmहरुको व्यवसाय चाडपर्व विशेषमा खुम्चिएको कुम्हाल बताउँछन् । अहिलेको कमाइले सालभरिको नगद खर्चको जोहो गर्नुपर्ने हुँदा काम भ्याइनभ्याइ परेको भङ्गाहा नगरपालिका–५ भूचक्रपुर बस्तीका गङ्गाबहादुर कुम्हालले बताए ।

दीपावली, छठपर्वका अवसरमा महोत्तरीका बजारमा रु ५० लाखको हाराहारीमा माटाका भाँडाको कारोबार हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका पदाधिकारीको अनुमान छ ।

कात्तिक कृष्ण पक्षसँगै जमेको माटाका भाँडाको बजार छठसम्मै रहने र मूल्यवृृद्धिसमेत भएकाले यो पर्वभित्र जिल्लाभरिमा रु ५० लाखभन्दा बढीको कारोबार हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लवराजा सिंह बताउछन् ।

प्रतिक्रिया दिनुहोस्