Logo
Logo

एमालेले भन्यो, ‘महाधिवेशनका लागि चन्दा उठाउँदैनौँ’



चितवन । नेकपा एमालेले चितवनमा महाधिवेशन गरेर प्रचण्डलाई टक्कर दिने आयश नभएको जनाएको छ । चितवनमा १०औँ महाधिवेशन गर्ने निर्णय गरेको भोलिपल्ट शुक्रबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जनाएको हो । बिहीबार स्थायी समितिको बैठकले चितवनमा १०औँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।

एमालेले चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख मानिस सहभागी गराउने समेत दावी गर्दै महाधिवेशनका लागि चन्दा नमाग्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले भेगीय हिसावले चितवन आउन र जान सहज भएकाले उदघाटन समारोहमा पाँच लाख मानिसलाई सहभागी गराइने बताएका हुन् । पत्रकार सम्मेलनमा महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार वा अन्य ठूलो क्षेत्रमा गर्ने गरी ठाउँको खोजी गरिएको प्रदेश अध्यक्ष पोखरेलले जानकारी दिए ।

महाधिवेशन चितवनमा गरेर एमालेलाई २०७४ सालको नेकपाको हैसियतमा पुर्याउने संकल्प र सन्देश दिने उनको भनाइ छ । एमाले प्रदेश कमिटी अध्यक्ष पोखरेलले महाधिवेशनका लागि चन्दा मागेर कसैलाई पनि दुःख नदिने बताए ।

उनका अनुसार महाधिवेशनको बन्दसत्र पूर्वी चितवन वा भरतपुरमा नै गर्ने योजना छ । उनले एक सातामा नै महाधिवेशनको उद्घाटन सत्र कहाँ गर्ने, बन्द सत्र कहाँ गर्ने बारे निर्णय गर्ने बताए । उनले भने, ‘त्यसका लागि प्रदेश कमिटी, जिल्ला कमिटी र केन्द्रबाट आउने प्रतिनिधि टोलीलेसमेत अध्ययन गर्नेछ ।’

महाधिवेशनस्थल चितवन रोज्नुका पछाडि विभिन्न टिकाटिप्पणी भएको भन्दै उनले प्रचण्डको गृह जिल्ला छानेर काउन्टर दिने आशय नभएको बताए । प्रदेश अध्यक्ष पोखरेलले भने, ‘चितवन भूगोलका हिसाबले पनि मध्यभाग छ, आवतजावत गर्न पनि सहज छ, चार घण्टा समय जोगाउनुपर्छ भनेर छानिएको हो, बाहिर टिकाटिप्पणी गरेजस्तो हैन, हामीहरुको प्रतिस्पर्धा कुनै दलसँग हैन ।’

प्रतिक्रिया दिनुहोस्