काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुलाई बोलीचालीको भाषामा ‘सम्मानार्थी’ शव्द प्रयोग गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले एक कार्यक्रममा प्रहरी संगठनहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए कार्यक्रममा गृहमन्त्री खाँणले भने, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका माथिल्लो पदकाले तल्लो पदकालाई ‘तँ’ भनेको सुनिन्छ, त्यो संगठनलाई सुहाउँदो देखिएन । त्यसैले अब सम्मानार्थ शब्द तपाइँ प्रयोग गर्नुहोला ।’
मन्त्रीको निर्देशनसँगै नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेलले संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शव्द प्रयोग हुने बताएका छन् । उनले भने, ‘मन्त्रीज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शव्द प्रयोग गर्न निर्देशन भएको छ । अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न मिल्दैन ।’
मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले अब सम्मानसहितको सेवा सञ्चालन गर्नुपर्ने निर्देशन गृहमन्त्री खाँणले दिएको उनको सचिवालयले जनाएको छ ।














