Logo
Logo

सांसद र मन्त्रीलाई कालोमोसो दल्ने सीके राउतको चेतावनी



काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले अब मेयर, सांसद र मन्त्रीहरुलाई पनि जनकारबाही गर्ने चेतावनी दिएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले आज (शुक्रबार) बिहान समाजिक संजालमार्फत् अब मेयर, सांसद र मन्त्रीलाई पनि जनकारबाही गर्ने धम्की दिएका हुन् ।

बिहीबार जनमत पार्टीका कार्यकर्ताले खानेपानी तथा ढलनिकास कार्यालय जनकपुरका निमित प्रमुख राजेश कुशवाहालाई अर्धनग्न गरी हिलो छ्यापेर जनकपुर घुमाएका थिए । ‘जनतामा धेरै डिमान्ड छ, मेयरको। मेयर मात्रै हैन, सुध्रेन भने सांसद र मन्त्रीमाथि पनि जनकारबाही हुनेछ’ राउतले आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन् ।

हिजो जनताले कारबाहीको लागि जनकपुरका मेयरलाई नै खोजेको, तर उनले भागेर ज्यान जोगाएको उनको राउतले दाबी गरेका छन् । ‘हिजो जनताले मेयरलाई नै खोजेका थिए। तर मेयरले लुकेर ज्यान जोगाए,’ उनले फेसबुकमा लेखेका छन् ।

बिहीबार दिउँसो जनमत पार्टीका नेता कार्यकर्ताले जनकपुरस्थित नेपाल खानेपानी तथा ढल निकास कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई कार्यालयबाट तानेर कुटपिट गर्दै अर्धनग्न बनाएर जनकपुर बजार घुमाइ अमानवीय व्यवहार गरेका थिए ।

पहिले गालामा थप्पड हान्न दिने र बदलामा फूल दिने स्वतन्त्र मधेश गठबन्धनका संयोजक भएको र अहिले आफु् जनमत पार्टीको संयोजक भएको उनको भनाई छ ।

उनले लेखेका छन्, ‘जनमत पार्टी स्वतन्त्र मधेश गठबन्धन होइन । स्वतन्त्र मधेश गठबन्धनका आफ्नै लक्ष्य र सिद्धान्त थिए । जनमत पार्टीको आफ्नै छ ।’

प्रतिक्रिया दिनुहोस्