Logo
Logo

प्रदेश १ का मुख्यमन्त्री आचार्यको प्रस्तावमाथि आइतबार मतदान हुने



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गर्ने भएका छन् । उक्त प्रस्तावमाथि आइतबार मतदान हुने दलहरुबीच सहमति जुटेको छ ।

भर्खरै सम्पन्न कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रस्ताव पेश गर्ने कार्यसूची तय गरेको हो । यद्यपि १ बजेका लागि आव्हान गरिएको प्रदेशसभा बैठक अझै सुरु भएको छैन । असोज २५ मा विश्वासको मत चाहिएको प्रस्ताव सरकारले संसद् सचिवालयमा पठाएको थियो ।
भदौ ९ मा एमाले विभाजित भएको भोलिपल्ट गठित सरकारले दल विभाजनको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने थियो । तर, संवैधानिक प्रावधानको आफू अनुकूल ब्याख्या गर्दै सरकारले आफ्नो आयु लम्ब्याउने प्रयास गरिरहेको थियो ।

सत्तारूढ एमालेका ४१ सांसद छन् । एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ । यो संख्या सरकार टिकाउन पुग्दो संख्या होइन । संसदमा सामान्य बहुमत सिद्ध गर्न ४७ मत आवश्यक पर्छ । विपक्षी गठबन्धन भने ५० मत संख्या साथमा लिएर नयाँ सरकार बनाउने तयारीमा बसेको छ ।

विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मन्चका १ गरी ५० सांसद छन् । केन्द्रीय तहको सहमति अनुसार प्रदेश १ र वागमतीमा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्नेछ । जसअनुसार प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने तय छ ।

प्रतिक्रिया दिनुहोस्