Logo
Logo

जलवायु परिवर्तनले अन्तर्राष्ट्रिय तनाव बढाउने प्रक्षेपण



काठमाडौं । जलवायु परिवर्तनको विषयले अन्तर्राष्ट्रिय तनाव बढाउने अमेरिकाका गुप्तचर संस्थाहरूले जनाएका छन् ।

बेलायतको ग्लास्गोमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन सुरु हुन नौ दिन बाँकी हुँदा सार्वजनिक गरिएको एक प्रतिवेदनमा सन् २०४० सम्म जलवायु परिवर्तनले राष्ट्रिय सुरक्षामा पार्ने प्रभावको समीक्षा गरिएको छ । अमेरिकाका विभिन्न २७ गुप्तचर संस्थााले गरेको सामूहिक अध्ययनमा पहिलोपटक राष्ट्रिय सुरक्षामा जलवायु परिवर्तनका प्रभावको समीक्षा गरिएको बिबिसीले जनाएको छ ।

सन् २०४० सम्म विभिन्न राष्ट्र जलवायु परिवर्तनबाट उत्पन्न असरलाई कसरी सम्बोधन गर्ने भनेर आपसमा विवाद गर्ने र विशेषगरी यसको प्रभाव जलवायुजन्य प्रतिकूल प्रभावसँग अनुकूलित हुन असमर्थ अति गरिब राष्ट्रमा बढी पर्ने बताइएको छ ।

२७ पेजको उक्त प्रतिवेदनमा जलवायु संकटले पानीसम्बन्धी द्वन्द्व, आप्रवास तथा विभिन्न देशका सीमामा मुठभेडको स्थिति सिर्जना हुन सक्ने आकलन गरिएको छ । जलवायु संकटले मानवीय विपद् बढाउने तथा राष्ट्रिय सुरक्षामा चुनौती दिने पनि प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी जलवायुको विषयमा विश्वले समन्वयात्मक रूपमा काम गर्न नसक्ने, देशहरूबीच खतरनाक प्रतिस्पर्धा हुने तथा यसले विश्वमा अन्ततः अस्थिरता निम्त्याउने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार विभिन्न देशबीच आफ्नो अर्थतन्त्रको प्रतिरक्षा गर्न र नयाँ प्रविधिको विकास गरेर फाइदा लिने होड चल्नेछ ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्