Logo
Logo

एकीकृत समाजवादीको ७३ जिल्लामा कमिटी गठन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्नो संगठन विस्तारलाई तीब्रता दिने क्रममा देशभरका ७३ जिल्लामा कमिटी गठन गरेको छ ।

चार जिल्लाबाहेक अन्यमा जिल्ला कमिटीसमेत गठन गरिएको पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय वर्षा, बाढी, पहिरोका कारण कमिटी गठन कार्य स्थगित गरिएको सो पार्टीले जनाएको छ ।

अहिले सङ्घीय तथा प्रदेशस्तरका निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तहका विभिन्न पालिका, वडा तथा टोल कमिटी गठनको प्रक्रिया जारी छ भने विभिन्न जिल्ला र केन्द्रबीच समन्वय स्थापित गर्ने सम्पर्क मञ्चको गठनका क्रममा छन् । देशबाहिर विभिन्न प्रवास कमिटीसमेत गठन भइरहेकोे पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको आधिकारिक प्रकाशनतर्फ केन्द्रीय मुखपत्रका रूपमा ‘समाजवाद’ र गतिविधिमूलक प्रकाशन (बुलेटिन) का रूपमा ‘कलम’ को प्रकाशन तयारी भइरहेको छ । जारी विज्ञप्तिमा पार्टीको आधिकारिक वेबसाइट, विभिन्न सामाजिक सञ्जालमा पार्टीको उपस्थितिका निम्ति प्राविधिक कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रदेश १ र बागमती प्रदेश सरकारको आगामी नेतृत्व पार्टीले गर्ने सहमति पाँच दलीय गठबन्धनको बैठकले गरिसकेको जनाइएको छ । गत भदौ ९ गते निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र प्राप्त गरेको पार्टीले केन्द्रीय कमिटीलाई पूर्णता दिने काम सम्पन्न गरेको छ ।

यस्तै सम्पूर्ण प्रदेश तथा प्रदेशस्तरका कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, सचिवसहितका पदाधिकारी तोकिएका छन् । केन्द्रीय आयोग र निकायहरु गठन भइसकेको जनाइएको छ । केन्द्रीय विभागका प्रमुख, उपप्रमुखहरु तोकिएका छन् ।

विज्ञप्तिमार्फत सबै जनसङ्गठन, पेशागत तथा सामुदायिक सङ्गठनहरुको विभिन्न तहका कमिटी गठन, पुनर्गठन तथा रूपान्तरणका काम जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्