Logo
Logo

वडावडामा एमालेको नयाँ नेतृत्व



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ६ हजारभन्दा बढी वडामा शनिबार नयाँ नेतृत्व चयन गरेको छ । दसौं महाधिवेशनको सम्मुखमा सबै तहमा नेतृत्व छान्ने क्रममा एकै दिन देशभरका ६ हजारभन्दा बढी वडामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चुनेको हो । मुलुकभरि ६ हजार ७ सय ४५ वडा छन् । अधिवेशन हुन बाँकी वडामा एक साताभित्रै सम्पन्न गर्ने एमालेले जनाएको छ ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बाढीपहिरोका कारण केही वडामा अधिवेशन हुन बाँकी भए पनि एकैसाथ ६ हजारभन्दा बढी वडामा अधिवेशन भई नयाँ नेतृत्व चयन भएको छ । एमालेले पहिलोपटक यसरी वडा अधिवेशन गरेको हो । पाँच हजारभन्दा बढी वडामा सर्वसम्मत नेतृत्व चयन भएको एमालेले जनाएको छ। विवाद भएका केही वडामा पनि एक साताभित्रै अधिवेशन सम्पन्न हुने जानकारी एमालेले दिएको छ ।

नयाँ विधानअनुसार वडा नेतृत्व चयन भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए। नयाँ विधानअनुसार वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित हुनेछन् । गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय कमिटी, उपमहानगरपालिकामा ४१ सदस्यीय कमिटी र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् ।

विधान महाधिवेशनले पास गरेको विधानअनुसार शनिबार सम्पन्न वडा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । सुनसरीलगायत केही जिल्लाका वडामा विवाद भएको र त्यहाँ देखिएका समस्या तत्काल समाधान गरिने एमालेले जनाएको छ ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्