Logo
Logo

प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिदै



काठमाडौं । प्रदेश १ सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिने भएका छन् । शुक्रबार प्रदेशसभामा मुख्यमन्त्री आचार्यले विश्वास मतसम्बन्धी प्रस्ताव पेश गरेका थिए । सो विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतविभाजन आज हुने भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

शुक्रबार सभामुख भण्डारीले कात्तिक ७ गते आज दिउँसो १२ बजेका लागि बैठक बोलाएका थिए । शुक्रबार बसेको प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र छलफल र मतदान गर्ने सहमति भएको थियो ।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेका आचार्यले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी निर्माण भएसँगै प्रदेशसभामा बहुमत गुमाएका छन् । भदौ १० गते मुख्यमन्त्रीमा नियुक्ति भएका आचार्यले ५९ दिनपछि आज विश्वासको मत लिने भएका हुन् ।

प्रदेशसभाको असोज २५ गतेभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रस्ताव पेश गरेर मतदानमा लैजानुपर्ने थियो । तर, सभामुख प्रदिपकुमार भण्डारीले २५ गतेको लागि आह्वान भएको सुचना निकालेर बैठक स्थगनपछि मात्र मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा दर्ता भएको थियो ।

आज मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धि प्रस्तावमा मतदान भएसँगै मुख्यमन्त्री आचार्य पदमुक्त हुनेछन् । उनको प्रदेशसभामा बहुमत नपुग्ने देखिन्छ ।

९२ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत आवश्यक पर्नेमा आचार्यको पक्षमा नेकपा एमालेका ४१ सांसद मात्र छन् । त्यसमध्ये सभामुख प्रदिपकुमार भण्डारीले निर्णायक मत मात्र दिन पाउने र गुलेफुन मियाँ फरार रहेकोले उनले ३९ मत मात्र प्राप्त गर्ने अवस्था छ ।

उता विपक्षी गठनबन्धन भने ५० मतसहित नयाँ सरकार निर्माणको तयारीमा छ । गठबन्धनमा नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् ।

राप्रपाका १ सांसद भने कतै खुलेको अवस्था छैन । गठबन्धनको केन्द्रीय तहको सहमति अनुसार प्रदेश १ नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्नेछ । समाजवादी संसदीय दलका नेता राजेन्द्र राई आजै मुख्यमन्त्री बन्दैछन् ।

प्रतिक्रिया दिनुहोस्