टी-२० विश्वकप : आज भारत र पाकिस्तानबीचको भिडन्त « Drishti News – Nepalese News Portal
Logo

टी-२० विश्वकप : आज भारत र पाकिस्तानबीचको भिडन्त


दृष्टि संवाददाता


काठमाडौं । यूएईमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत दुई खेल आज हुँदैछ । जसमा चारवटै टिम दक्षिण एसियाका छन् । त्यसमा पनि भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित भिडन्त आज हुने भएको छ ।

आयोजक समेत रहेको भारतले सुपर १२ मा पहिलो खेलमै पाकिस्तानसँग खेल्दै विश्वकप सुरुआत गर्दैछ । कोरोना महामारीका कारण भारतमा हुनुपर्ने विश्वकप यूएई र ओमानमा खेलाइएको हो ।

ओमानमा पहिलो चरणको एउटा समूहको खेल भएको थियो । सुपर १२ पछि भने सबै खेल यूएईको तीनवटा मैदानमा खेलाइँदै छ । सुपर १२ को ग्रुप २ मा रहेका भारत र पाकिस्तानबीचको खेल दुबईमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुँदैछ ।

सन् २०१९ को एकदिवसीय विश्वकपपछि यी दुई टोली पहिलो पटक खेल्न लागेका हुन् । टी-२० मा भने यी दुई टोली २०१६ को विश्वकपमा भिडेका थिए । दुवै खेल भारतले जितेको थियो ।

भारत र पाकिस्तानबीचको खेलअघि ग्रुप १ मा रहेको बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल शारजहाँमा दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्