Logo
Logo

भीम आचार्यको सत्ता जोगाउन सांसद किनबेच !



काठमाडौं । विश्वासको मत लिने दिन आज प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको सत्ता जोगाउन सांसद किनबेच भएको विषय सार्वजनिक भएको छ । आचार्यको सत्ता जोगाउन नेकपा एमालेले नेपाली कांग्रेसको सांसद किनेको विषय सार्वजनिक भएको हो ।

एमालेले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल (जसपा)को समेत सासंद किनेको चर्चा चलेको छ । आफ्ना सांसद बिकेको थाहा पाएपछि नेपाली कांग्रेसले आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ ।

तर, कांग्रेसले भने प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को पाढीपहिरोको क्षति अवलोकन गर्न आएकाले सवै सांसद त्यतै हुँदा प्रदेशसभा प्रभावित हुने भएपछि बैठक स्थागित गर्न माग गरिएको प्रदेश १ कांग्रेसले जनाएको छ ।

कांग्रेसका एक नेताले भने– ‘हाम्रा केही साथीहरु आर्थिक प्रलोभनमा परेको खबर छ । त्यसैगरी माओवादी र जसपाका सांसद समेत किनबेचमा परेको खबर सुनिएको छ । पुष्टि भएको छैन । तर, चर्चा त्यस्तै चलेको छ । यदि त्यो हो भने यो बेठिक हुँदैछ ।’

सांसद किनबेच भएको हल्ला चले पनि आचार्य नेतृत्वको एमाले सरकार जोगाउन को–को तयार भए भन्ने नाम भने सर्वजनिक भएको छैन । ति नेताले भने– ‘हामीलाई जानकारी आएको छ । तर, अहिले नै नाम सार्वजनिक नगरौं । हामी अवस्था सम्हाल्ने प्रयास गरिरहेका छौं ।’

एमालेलाई सत्ता जोगाउन कति सांसद आवश्यक ?
अहिलेकै अवस्थामा विपक्षी गठबन्धनसँग प्रदेशसभाका ५० सदस्य छन् । नयाँ सरकार गठनका लागि जम्मा ४७ सांसद आवश्यक पर्छ । जसमा नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टी नेपाल (जसपा)का ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ सांसद छन् ।

हाल एमालेको पक्षमा ४१ सांसद छन् । सभामुख र एक जना फरार सांसद भएकाले एमालेसँग ३९ सांसद मात्रै छन् । त्यसमा राप्रपाका १ मत जोड्दा एमालेको मत ४० हुन्छ । अब सरकार जोगाउन एमालेले अन्य दलबाट ७ जना सांसद तान्नु पर्ने हुन्छ ।

यस्तो अवस्थामा एमालेले विपक्षी गठबन्धनबाट ७ जना सांसद तान्न खोजेको हो । स्रोतका अनुसार गठबन्धनका सबै पार्टीबाट आवश्यक सांसद ल्याएर मन्त्री बनाउँदै सरकार जोगाउने एमालेले तयारी गरेको छ । यसैबीच, नेकपा एमालेले पनि प्रदेशसभा बैठक स्थागित गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्