Logo
Logo

हेरि राख्नुस्, फेरि मेरै छोरा प्रधानमन्त्री बन्छ : मोहनप्रसाद ओली



झापा । नेकपा एमालेका अध्यक्ष केपी ओलीका बुबा मोहनप्रसाद ओलीले आगामी फागुनपछि फेरि आफ्नै छोरा प्रधानमन्त्री बन्ने बताएका छन् । विभिन्न कार्यक्रम लिएर आइतबार गृहजिल्ला झापा पुगेको आफ्ना छोरा ओलीसँग भेटपछि उनले सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।

९० वर्षीया मोहनप्रसाद ओली र छोरा केपी ओलीबीच करिब आधा घण्टा कुराकानी भएको थियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका छोरासँग कुराकानी सकेपछि उनले अबको चुनावमा एमालेले एक्लै बहुमत ल्याउने दावीसमेत गरे । उनले भने, ‘एमाले सबैभन्दा ठूलो पार्टी बन्छ । फागुनपछि मेरै छोरो प्रधानमन्त्री बन्छ । हेरि राख्नुस्, त्यो पनि पाँच वर्ष एकलौटी चलाउनेगरी ।’

अध्यक्ष ओली तीनको कार्यक्रम शेड्युल लिएर आइतबार झापा पुगेका हुन् । अध्यक्ष ओलीसँगै स्थायी समिती सदस्यहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र केन्द्रीय सदस्य प्रभु साह पनि रहेका छन् ।

अध्यक्ष ओलीसहितले झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । सचिवालय सदस्य तथा संसद प्रतिनिधि होमबहादुर थापाका अनुसार अध्यक्ष ओलीले आजै बिर्तामोडमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

ओली तीन दिनका लागि पार्टी तीनजना शीर्ष नेतालाई लिएर लागि गृह जिल्ला पुगेका हुन् । ओलीले आजै धुलावारीमा कार्यकर्ता भेटघाटलाई कार्यक्रमलाई सम्बोधन गर्ने जिल्ला अध्यक्ष चिन्तन पाठकले बताए ।

यस्तै, सोमबार बिहान आफ्नो निर्वाचन क्षेत्र झापा ५ को गौरादह नगरपालिका–५ महारानी झोडामा साना किसान महिला सहकारी संस्थाको पाहुना घरको अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सोमबार साँझ ओलीले विराटनगरमा पार्टी नेताहरुसँग आन्तरिक भेटघाट गर्दैछन् भने उनी मंगलबार बिहान काठमाडौँ फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्