Logo
Logo

मकालु आधार शिविरमा पर्यटकको मृत्यु



सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरमा एकजना डेनिस नागरिकको मृत्यु भएको छ । मकालु–२ मकालु आधार शिविरमा डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी शुभेष अधिकारीले जानकारी दिए ।

विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि मकालु आधार शिविर पुगेका डेनमार्कका नागरिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले पुष्टि गरेको छ । प्रहरी कार्यालयका सूचना अधिकारी शुभेष अधिकारीका अनुसार थोर्वजन एडर्शनको मकालु आधार शिविरभन्दा केही माथि शनिबार दिउँसो मृत्यु भएको हो । गत असोज २५ गते ३ विदेशी पर्यटकसहित १० जनाको टोली ताप्लेजुङ हुँदै मकालुतर्फ आधार शिविर गएका थिए ।

हिउँमा फसेका दुई विदेशीसहित एक नेपालीको उद्धार

मकालु आधार शिविरमा फसेका दुई विदेश पर्यटकसहित एक नेपालीको सकुशल उद्धार गरिएको छ । आइबार दिउँसो दुईजना डेनिस नागरिक र एकजना नेपालीको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ । मकालु आधार शिविरको हिउँमा फसेका अन्य ६ जना नेपाली नागरिका उद्धारको पहल भइरहेको उद्धारमार्फत काठमाडौँ पुगेको निरज कार्कीले बताए ।

आज दिउँसो हेलिकप्टरमार्फत काठमाडौँ पुगेका कार्कीका अनुसार ६ नेपाली नागरिकसहित मृतक डेनमार्कका हेन्रिक थोर्वजन एडर्शन अहिले मकालु आधार शिविरमै रहेको बताए । मृतक थोर्वजन एडर्शनसहित ६ नेपालीलाई हेलिकप्टरमार्फत उद्धार गर्न लागिएको कार्कीले बताए । यसअघि गत सोमबार मकालु आधार शिविर घुम्न गएका सूर्योदय नगरपालिका–५ श्रीअन्तु इलामका ३२ वर्षीय धरणी घिमिरेको लेक लागेर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्